Loading... आजः मङ्लबार, असार २३, २०८३
Trending

इङ्ल्यान्ड विश्वकपको क्वार्टरफाइनलमा


काठमाडौँ  :   इङ्ल्यान्ड फिफा विश्वकप–२०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मेक्सिको अज्टेका स्टेडियममा सोमबार बिहान भएको खेलमा १० खेलाडीमा सीमित इङ्ल्यान्डले घरेलु टोली मेक्सिकोलाई ३–२ गोलले स्तब्ध बनाउँदै अन्तिम आठमा स्थान बनाएको हो ।

इङ्ल्यान्डको जितमा जुड बेलिङहमले ३६औँ र ३८औँ मिनेटमा लगातार दुई गोल गर्नुभयो । कप्तान ह्यारी केनले ६०औँ मिनेटमा पेनाल्टीमा एक गोल थप्नुभयो ।

यसअघि इङ्ल्यान्ड ५४औँ मिनेटमा १० खेलाडीमा समेटिएको थियो । जरेल क्वेनशाह रातो कार्ड पाउँदै बाहिरिनुभएको थियो । बल पोसेसन राम्रो राख्दै इङ्ल्यान्डलाई टक्कर दिएको सहआयोजक मेसिक्कोका लागि जुलियन कुईनोनेसले ४२औँ र राउल जिमिनेजले ६९औँ मिनेटमा पेनाल्टीमा गोल गर्नुभएको थियो ।

इङ्ल्यान्डका कप्तान केनले डिबक्सभित्र फल हानेपछि मेस्किकोले पेनाल्टीको आवसर पाएको थियो । खेलको अन्तिमसम्म गोलका लागि लगातार अवसर बनाएको मेस्किको अन्ततः विश्वकपबाट बाहिरिन बाध्य बन्यो । इङ्ल्यान्डले अब क्वार्टरफाइनलमा नर्वेसँग खेल्नेछ । सोमबार नै भएको अर्को खेलमा नर्वेले पाँच पटकको विजेता ब्राजिललाई २–१ गोलले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको हो । एजेन्सी