बन्दुक बोकेको काँधमा दूधको भारी


दैलेख : घना जंगलको अँध्यारो रात, गोलीको आवाज र विस्फोटको गुञ्जन—यी दृश्य अझै दैलेखको नौमुले गाउँपालिका–६ का खड्गबहादुर रानाको स्मृतिमा ताजा छन् । युद्धका ती दिन सम्झँदा उहाँको मन आज पनि भारी हुन्छ, शरीर काँपेजस्तो हुन्छ । तत्कालीन द्वन्द्वकालमा काँधमा बन्दुक बोकेर युद्ध लड्नुभएका राना अहिले त्यही काँधमा दूधको भारी बोकेर हिँडिरहनुभएको छ । २०५७ सालमा उहाँ भैरव माध्यमिक विद्यालय मा कक्षा नौमा पढ्दै हुनुहुन्थ्यो । गाउँ–गाउँमा जनयुद्धको प्रभाव फैलिरहेको थियो । शोषण र अन्याय अन्त्य गर्ने सपना युवाहरूको मनमा गहिरो रूपमा बसिरहेको थियो । खड्गबहादुर पनि त्यही सपनाबाट प्रभावित हुनुभयो । “गरिब र सर्वहारा वर्गको दिन आउँछन् भन्ने विश्वास थियो,” उहाँ सम्झनुहुन्छ, “त्यो बेला बन्दुक समात्नु नै सही बाटो लाग्थ्यो ।” त्यही युद्धका क्रममा उहाँ घाइते हुनुभयो । शरीरभित्र गाडिएका छर्राले बेला–बेला पीडा दिन्छन् । “अहिले पनि बेला–बेला दुख्छ,” उहाँ भन्नुहुन्छ ।
त्यसपछि उहाँ नौमुलको, अछाम,रोल्पाको,खारा,गामसिम्ले लगायत धेरै लडाइमा सहभागी हुनुभयो । उहाँका अनुसार त्यतिबेला जंगल नै जीवन थियो—भोक, थकान र अनिश्चितताबीचको संघर्ष । “साथीहरू सँगै हिँड्थे,” उहाँ भन्नुहुन्छ, “तर बिहान उठ्दा कोही नहुने अवस्था पनि आउँथ्यो ।”तर युद्धको सबैभन्दा ठूलो चोट शरीरमा होइन, मनमा बस्यो ।
शान्ति वार्ताको दुई दिनअघि उहाँका भाइ सन्तबहादुर राना बाँकेको चपरगौडीमा दोहोरो भिडन्तमा मारिनुभयो । घर फर्कने एउटै सपना बोकेका दुई दाजुभाइमध्ये एक कहिल्यै फर्किएनन् । “ऊ घर फर्किन पाएन,” उहाँले स्वर भारी पार्दै भन्नुभयो । भाइएको एउटा छोरी र श्रीमती छन । भाइको मृत्युले परिवार भत्कियो । आमाबुवाको जीवनमा ठुलो चोट प¥यो । त्यसपछि खड्गबहादुरको मन पनि युद्धबाट टाढा हुँदै गयो । शान्ति प्रक्रिया सुरु भएपछि कतिपय साथी सेना समायोजनमा गए, कतिपय राजनीतिमा लागे । तर खड्गबहादुर भने भारत र त्यसपछि खाडी मुलुक दुबई पुग्नुभयो । “युद्ध सकियो,” उहाँ भन्नुहुन्छ, “तर जीवनको संघर्ष सकिएको थिएन ।”
अरुको देशमा पसिना बगाउँदा पनि उहाँको मन गाउँमै अडिन्थ्यो । अन्ततः उहाँ गाउँ फर्किनुभयो । फर्किँदा न सम्पत्ति थियो, न सुरक्षित भविष्य—केवल स्मृति र घाउहरू थिए । त्यसपछि उहाँले विदेश छोडेर गाउँमै बस्ने निर्णय गर्नुभयो । ९२ वर्षका बुवा, जो भारतीय सेनाबाट अवकाशप्राप्त हुनुहुन्थीयो अहिले प्यारालाइसिसले थला पर्नुभएको छ । उहाँकै स्याहार र घरको जिम्मेवारीले खड्गबहादुरलाई गाउँमै रोक्यो ।
बुवाको हेरचाह र आयआर्जन दुवै उद्देश्यले देवकृषि पशुपंक्षी फर्म दर्ता गर्नुभयो । तीन लाख रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले दश लाख भन्दा बढि छ । आज उहाँसँग चार वटा दुहुना भैंसी छन् । पाडापाडी गरेर नौ वटा पशु छन् । दूध बिक्रीबाट मासिक करिब ३० हजार रुपैयाँ आम्दानी हुन्छ । पशु अस्पताल तथा पशुसेवा कार्यालय बाट एक लाख रुपैयाँ अनुदान पाउनुभएको छ । त्यो बाहेक अन्य सहयोग नपाउनुभएका रानाले आफुलाई सरकारले सहयोग गरेको खण्डमा युवाहरुलाई स्वदेशमै रोजगारी दिने योजना सुनाउनुभयो । बिहान घाँस काट्ने, भैंसी दुहुने र दूध बजार पु¥याउने—यही अहिले उहाँको दैनिकी बनेको छ । “पहिले काँधमा बन्दुक हुन्थ्यो,” उहाँ हल्का मुस्कुराउँदै भन्नुहुन्छ, “अहिले दूधको भारी छ ।”तर त्यो मुस्कानभित्र अझै अधुरो युद्ध बाँकी छ—छोराछोरीलाई राम्रो शिक्षा दिने सपना ।
त्यस्तै पुर्व जनमुक्ति सेना नौमुले गाउँपालिका – ६ का धन बहादुर तारामी मगरले व्यवसायिक तरकारी खेती गर्नुभएको छ । खड्गरानाको घरछेउमै उहाँले तारामी आधुनिक नर्सरी कृषि तथा पशुपक्षी फर्म दर्ता गरेर चार रोपनी खेतमा व्यावसायिक तरकारी खेती गरिरहनुभएको छ । नौमुले बजार नजिक भएका कारण पनि बिहान र बेलुका तरकारी लिन व्यापारी घरमै पुग्ने भएपछि सिजनमा उहाँलाई तौलेर दिन भ्याइनभाई हुने गरेको तारामीले बताउनुहुन्छ । पाँच वर्ष देखी कृषि गरिरहेका तारामीले खेतीमा लागेयता आफ्नो मेहनत खेर गएको कहिल्यै महसुस गर्न नपरेको बताउनुभयो । उहाँले भन्नुभयो यसपालि वैशाखयता मौसमी बेमौसमी तरकारी खेतीबाटै राम्रो आम्दानी लिन सफल भएको छु । आफुले कृषि विकास कार्यालय बाट प्राविधिक लगायतका सहयोग प्राप्त गरेको बताउनुभयो ।

