Loading... आजः बुधबार, बैशाख ३०, २०८३
Trending

भाइरल हुने बहानामा शिरिस्थानको अखण्ड दीप निभाइँदै


दैलेख :  दैलेखको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको शिरिस्थान मन्दिरमा सयौँ वर्षदेखि निरन्तर बलिरहेको अखण्ड ज्वाला (दीप) सामाजिक सञ्जालमा भाइरल हुने उद्देश्यले निभाउने प्रवृत्ति बढ्दै गएको छ। टिकटक, फेसबुक र रिल्सका लागि भिडियो बनाउने क्रममा केही व्यक्तिले अखण्ड दीप निभाएर पुनः बाल्ने गरेको भिडियो सार्वजनिक हुन थालेपछि स्थानीयवासी तथा धार्मिक आस्थावान समुदाय चिन्तित बनेका छन् । बैशाख १६ गते सुर्खेतको पञ्चपुरी नगरपालिकाका डम्बर खत्रीले पञ्चकोशी क्षेत्रमा भ्रमणका क्रममा अखण्ड ज्वाला निभाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए। उक्त घटनापछि पञ्चकोशी क्षेत्र विकास संस्था र प्रहरीले खोजी गरी उनलाई जिल्ला प्रहरी कार्यालयमा उपस्थित गराई आगामी दिनमा यस्ता गतिविधि दोहो¥याउन नहुने भन्दै कागज गराएको जनाएको छ ।
त्यसको केही समयपछि दैलेखमा बैशाख ७ गतेदेखि १७ गतेसम्म सञ्चालन भएको धार्मिक पर्यटन मेलामा कार्यक्रम उद्घोषकका रूपमा आएका माधवजोन खत्री नाम गरेका व्यक्तिले समेत अखण्ड दीप निभाएको भिडियो सार्वजनिक भएको छ। भिडियोमा उनले “दैलेखको चमत्कार” भन्दै शिरिस्थान क्षेत्रमा निरन्तर ग्यास बलिरहेको उल्लेख गरेका छन्। साथै नेपाल सरकारले पेट्रोलियम पदार्थको अन्वेषण तथा उत्खनन कार्यलाई निष्कर्षमा पु¥याउनुपर्ने र यसको विश्वव्यापी प्रचार गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
पञ्चकोशी क्षेत्र विकास संस्थाका अध्यक्ष नवीन योगीले पछिल्लो समय केही व्यक्तिले सामाजिक सञ्जालमा धेरै हेराइ र प्रतिक्रिया पाउने उद्देश्यले धार्मिक आस्थामाथि नै असर पर्ने गतिविधि गरिरहेको बताउनुभयो । उहाँले धार्मिक सम्पदा संरक्षणका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग सुरक्षा तथा निगरानी बढाउन अनुरोध गरिएको जानकारी दिनुभयो। “शिरिस्थान मन्दिर दैलेखको महत्वपूर्ण धार्मिक स्थल हो। यहाँ बल्ने अखण्ड दीपलाई धार्मिक आस्था र विश्वासको प्रतीकका रूपमा लिइन्छ,” अध्यक्ष योगीले भन्नुभयो, “मुखले दीप निभाउने कार्यलाई धार्मिक परम्पराविपरीत मानिन्छ । यस्ता गतिविधिले लाखौँ हिन्दू धर्मावलम्बीको आस्थामाथि चोट पुगेको छ ।”
स्थानीय राजु महताराले सामाजिक सञ्जालमा भाइरल हुने नाममा धार्मिक स्थलको मर्यादामाथि खेलबाड गर्न नहुने बताउनुभयो। “यस्ता गतिविधिले हाम्रो संस्कृति र परम्परामाथि नै नकारात्मक असर गर्छ,” उहाँले भन्नुभयो। स्थानीयवासीले मन्दिर क्षेत्रमा निगरानी बढाउन, धार्मिक स्थलको मर्यादा कायम राख्न तथा यस्ता गतिविधि रोक्न मन्दिर व्यवस्थापन समिति र स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन्। सामाजिक सञ्जालमा चर्चित हुने होडले धार्मिक तथा सांस्कृतिक सम्पदामाथि नकारात्मक प्रभाव पार्न थालेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।