Loading... आजः शुक्रबार, बैशाख ४, २०८३
Trending

प्रतिनिधि सभाको  सभामुखको चुनाव चैत २२ मा हुने


काठमाडौँ  :   प्रतिनिधि सभाको सभामुख चयनका लागि चैत २२ गते निर्वाचन हुने भएको छ । बुधवार सिंहदरबारमा बसेको सर्वदलीय बैठकले चैत २० गते उम्मेदवारी मनोनयन गर्ने र २२ गते निर्वाचन गर्ने कार्यतालिकामा सहमति जुटाएको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभएको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सदनको पहिलो बैठकको कार्यसूची र सञ्चालन प्रक्रियाबारे दलहरूबीच समझदारी बनेको जानकारी दिनुभयो । उहाँकाअनुसार प्रतिनिधि सभाको बिहीवारको पहिलो बैठकमा सभामुखको निर्वाचनसम्बन्धी प्रस्ताव पेश हुनेछ ।

बैठकले नयाँ नियमावली नबन्दासम्म हालकै संसद् नियमावलीका आधारमा बैठक सञ्चालन गर्ने र पहिलो बैठकबाटै नियमावली प्रतिस्थापनको प्रक्रिया अघि बढाउने निर्णय गरेको पनि उहाँले बताउनुभयो ।

साथै हाउसको पहिलो बैठकमा बैठकमा कार्यव्यवस्था परामर्श समिति गठन, बैठकको अध्यक्षता गर्ने सदस्यको चयन प्रक्रिया शुरु गरिनुका साथै शीर्ष नेताहरूले शुभकामना दिने कार्यसूचीमा सहमति जुटेको बुर्लाकोटीको भनाइ छ ।

उहाँले भन्नुभयो, “हाउसको पहिलो बैठक कसरी सञ्चालन गर्ने र के के कार्यसूची राख्नेबारेमा छलफल भयो । कतिपय कुराहरू हामी छलफलबाट टुङ्ग्याएर निस्किएका छौँ । सभा सञ्चालनको लागि आवश्यक संसद् नियमावलीलाई प्रतिस्थापन गर्ने सहमति भएको छ । तर नयाँ नियमावली नबन्दासम्म हाल रहेकै नियमावलीलाई टेकेर बैठक सञ्चालन गर्ने कुरा पनि भएको छ । यो सभाको पहिलो बैठकमै प्रस्ताव भएर अगाडि बढ्छ । सभामुखको निर्वाचनसम्बन्धी प्रस्ताव सभाको पहिलो बैठकमा प्रस्ताव हुने, २० गते मनोनयन गर्ने र २२ गते निर्वाचन गर्ने कार्यतालिकामा हामीले छलफल गर्यौं ।