Loading... आजः मङ्लबार, पुस ८, २०८२
Trending

मानसिक स्वास्थ्य समस्यासँगै अपराधिक घटना बढ्दै


कमल शर्मा
दैलेख  :  दैलेख जिल्लामा पछिल्लो समय मानसिक स्वास्थ्य समस्यासँगै अपराधिक घटनाहरू बढ्दै जान थालेका छन् । पारिवारिक तनाव, आर्थिक अभाव, लैङ्गिक हिंसा तथा सामाजिक दबाबका कारण मानसिक समस्या जटिल बन्दै जाँदा अपराधिक घटना बढ्दै गएको पाइन्छ ।
गत मङ्सिरमा दैलेखको नौमुले गाउँपालिका–५ की २७ वर्षिय तिर्सना राम्जालीले दाउराको चिरपट हानेर आफ्नै बुवा ६५ वर्षिय धन बहादुर राम्जालीको मृत्यु भयो । कलिलै उमेरमा विवाह गर्नुुभएकी उहाँले बिवाहीत छुटपत्र लिएर माइत बस्दै आउनुभएको थियो । पारिवारिक तवानका कारण दैनिक अत्याधिक मदिरा सेवन गर्नथालेपछि बुवाले सम्झाउँदा बुवाकै मृत्यु भयो । प्रारम्भिक विवरणअनुसार पारिवारिक तनाव र मानसिक समस्याका कारण घटना घटेको हुनसक्ने प्रहरीको आशङ्का छ ।
त्यस्तै नारायण नगरपालिका–३ का डेकेन्द्र बहादुर कटुवालले आफ्नै सासु पर्ने मनकुमारी बोगटीलाई कोदालोले हानेर घाईते बनाउनुभयो । समान्य श्रीमती संग भएको बेमेलका कारण कोदालाले हानेर सासुलाई घाइते बनाएपछि अहिले कर्तव्यज्यान मुद्धामा थुनामा रहनुभएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी उपरीक्षक गणेशबहादुर बरालले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान जारी रहेको जानकारी दिँदै घटनामा संलग्न व्यक्तिहरूको मानसिक अवस्थाले कति भूमिका खेलेको छ भन्ने विषयमा समेत अनुसन्धान भइरहेको बताउनुभयो ।

उहाँले प्रहरीले अनुसन्धाका लागी प्रहरी हिरासतमा राख्दा समेत दैनिक अस्पताल लैजानुपर्ने समस्या समेत रहेको बताउनुभयो । प्रहरीका अनुसार माथिका घटना केही उदाहरण मात्र हुन् । पछिल्लो समय जिल्लामा मानसिक समस्याका कारण घरेलु हिंसा, गम्भीर कुटपिट तथा आत्महानीसँग सम्बन्धित घटनाहरू बढ्दै गएको पाइएको छ । पारिवारिक कलह, लैङ्गिक हिंसा, बलात्कारको पीडा तथा आर्थिक अवस्था कमजोर हुँदा मानसिक समस्याका बिरामीको संख्या बढ्दै गएको देखिएको छ ।
नारायण नगरपालिकामा सिएमसी नेपालमार्फत कार्यरत मनोसामाजिक परामर्शकर्ता कल्पना नेपालले नगरपालिकामा मानसिक समस्याका बिरामीहरू उल्लेखनीय संख्यामा रहेको बताउनुभयो । उहाँका अनुसार आर्थिक रूपमा कमजोर, लैङ्गिक हिंसामा परेका, बलात्कार पीडित तथा स्रोत–साधनको अभाव भएका धेरै व्यक्ति मानसिक समस्याबाट ग्रसित छन् । जिल्ला अस्पताल दैलेखमा रहेको एकद्वार संकट व्यवस्थापन प्रणालीमार्फत हालसम्म ३८८ जना नयाँ मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिले उपचार सेवा लिएका छन् भने १९६ जनाले नियमित रूपमा उपचारका लागि सम्पर्क गरिरहेको अस्पतालले जनाएको छ ।
नारायण नगरपालिकामा स्वास्थ्य शाखामा कार्यरत लालबहादुर खड्काले मानसिक स्वास्थ्य समस्याको न्यूनीकरणका लागि सरकारले ९६ दिने ‘मानसिक स्वास्थ्य सचेतना अभियान २०८२’ सुरु गरेको जानकारी दिनुभयो । “स्वस्थ मन, स्वस्थ जीवन भन्ने नारासहित विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो ।

उहाँका अनुसार विश्वव्यापी रूपमा जनस्वास्थ्यको समस्याका रूपमा रहेको मानसिक रोग बारेमा जनचेतना फैलाउने उद्देश्यले मानसिक स्वास्थ्य अभियान सञ्चालन गरिएको हो । मानसिक स्वास्थ्यलाई समग्र स्वास्थ्यको अभिन्न हिस्साको रूपमा जनचेतना बढाउने ,समस्याको स्वस्थ तरिकाले सामना गर्ने सीप तनाव व्यवस्थापनलाई प्रोत्साहित गर्ने, मानसिक स्वास्थ्य र सहयोग खोज्ने व्यवहारसँग सम्बन्धित भ्रमहरू तथा भेदभावहरू हटाउने, समुदायका अगुवा, धार्मिक व्यक्तित्वलाई मानसिक स्वास्थ्य संवादलाई सामान्यीकरण गर्ने यस अभियानको उद्देश्य छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घरेलुहिंसा प्रकृति अनुसारको उजुरी संख्या १२ वटा मङ्सिरको महिनामा आएको र ७ वटा मिलापत्र गरिएका,२वटा कानुनी प्रक्रियामा रहेको तीन वटा बाँकी रहेका छन । त्यस्तै आत्महत्या चार जना रहेका छन । १६ देखी २५ वर्ष उमेर समुहका २ जना र ४६ देखी ६० बर्ष उमेर समुहका २ जना रहेका छन ।