शैक्षिक सामाग्री बिनै पढ्दै बालविकासका विद्यार्थी


कमल शर्मा
दैलेख : सरकारले बालविकास तहका विद्यार्थीहरूको शिक्षण सिकाइ प्रभावकारी बनाउन प्रति विद्यार्थी पाँच सय रुपैयाँका दरले शैक्षिक सामाग्री खरिदका लागि बजेट उपलब्ध गराउँदै आएको छ । तर शैक्षिक सत्र सकिन केही महिना मात्र बाँकी रहँदा पनि दैलेखको ठाटिकाँध गाउँपालिकाका अधिकांश विद्यालयमा बालविकासका विद्यार्थीहरू शैक्षिक सामाग्री बिनै पढ्न बाध्य भएका छन् । बालविकास शिक्षिकाहरूका अनुसार, विद्यालयको खातामा बजेट आए पनि शैक्षिक सामाग्री खरिद नगरी अन्य शीर्षकमा खर्च गरिएको बताएका छन ।
ठाटिकाँध गाउँपालिका–१ स्थित गंगलाल आधारभुत विद्यालयकी बालविकास शिक्षिका कमला शाहीले अहिलेसम्म विद्यालयमा कुनै पनि शैक्षिक सामाग्री खरिद नभएको बताउनुभयो। “सरकारले पैसा पठाएको जानकारी भए पनि प्रधानाध्यापकले विभिन्न बहाना देखाएर सामाग्री खरिद गरिएन ,” उहाँले भन्नुभयो, “बालविकासदेखि पाँच कक्षा सम्मका विद्यार्थी भएकाले सबैलाई नपुग्ने भन्दै सामाग्री खरिद नगरिएको हुनसक्छ।” बालविकास शिक्षकहरूका लागि दिएको पाठ्यक्रममा आधारित क्षमता विकास तालिम सोसेक नेपालले लिएपछि त्यसलाई व्यवहारमा उतार्नसमेत सामाग्रीको अभावले आफुहरुलाई समास्या भएको छ ।
त्यस्तै, ठाटिकाँध गाउँपालिका–६ स्थित जनआधारभुत विद्यालय थापाटोलकी बालविकास शिक्षिका उर्मिला कुमारी रोकायले पनि विद्यालयमा हालसम्म शैक्षिक सामाग्री खरिद नभएको बताउनुभयो । “बालविकासमा २८ जना विद्यार्थी छन्, त्यही अनुसार बजेट आएको छ,” उहाँले भन्नुभयो, “तर शिक्षक व्यवस्थापन र अन्य खर्चमा प्रयोग हुँदा सामाग्री खरिद पछाडि परेको छ।” तर विद्यालय प्रशासन भने आरोप अस्वीकार गरेको छ ।
जनआधारभुत विद्यालयकै प्रधानाध्यापक पानसरा थापाले आवश्यकता अनुसार सामाग्री खरिद गरिएको दाबी गर्नुभयो। “कुनै पनि सामाग्री खरिद गरिएको छैन भन्नु गलत हो,” उहाँले भन्नुभयो, “हामी आवश्यकताका आधारमा खरिद गर्छौं।”
ठाटिकाँध गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नेत्रबहादुर थापाले सरकारले बालविकासका विद्यार्थीको शैक्षिक गुणस्तर सुधारका लागि प्रति विद्यार्थी पाँच सय रुपैयाँ विद्यालयको खातामा पठाउने गरेको बताउनुभयो। तर विद्यालयले बजेट सही प्रयोजनमा खर्च गरे–नगरेको विषयमा नियमित अनुगमन हुन नसकेको स्वीकार गर्नुभयो।
“शिक्षिकाहरूबाट गुनासो आएपछि अनुगमन गर्ने तयारी गरेका छौँ,” उहाँले भन्नुभयो। नेपालको अनिवार्य शिक्षा ऐन, २०७५ र शिक्षण सामग्री वितरण निर्देशिका, २०७८ अनुसार, सार्वजनिक विद्यालयले विद्यार्थीलाई पाठ्यपुस्तक, नोटबुक र अन्य आवश्यक शैक्षिक सामाग्री समयमै उपलब्ध गराउनुपर्ने कानुनी दायित्व राख्छ । तर कानुनी व्यवस्था हुँदाहुँदै पनि स्थानीय तह र विद्यालयले प्रभावकारी कार्यान्वयन गर्न नसक्दा बालविकासका विद्यार्थी आधारभूत सिकाइ सामग्रीबाटै वञ्चित भएका छन् ।
ठाटिकाँध गाउँपालिका उपाध्यक्ष एवम पूर्व शिक्षक देबीराम बडुवालले बालविकास तहमा शैक्षिक सामाग्रीको अभाव भएको कुरा आफुले पहिलो पटक सुनेको बताउनुभयो । उहाँले बालविकासमै सिकाइ कमजोर भए त्यसको असर पूरै विद्यालय जीवनभर पर्ने समस्या भएकाले त्यसका लागी विद्यालयका प्रअहरुको बैठक राखेर सोधपुछ समेत गरिने बताउनुभयो ।

