तरकारीखेतीबाट आत्मनिर्भर बन्दै किसान


कमल शर्मा
दैलेख : बिहानको घामसँगै दुल्लु नगरपालिका–२ तरियाको खेत हरियालीले चम्किन थाल्छ । प्लास्टिक टनेलभित्र तरकारीका बोट नियाल्दै ६५ वर्षीय कर्णबहादुर थापा आफ्नो दैनिकी सुरु गर्नुहुन्छ । धेरैका लागि यो उमेर विश्रामको समय हो, तर थापाका लागि तरकारीखेती विश्राम होइन, आत्मनिर्भरताको आधार बनेको छ ।
केही वर्षअघिसम्म खानका लागि मात्र परम्परागत खेती गर्दै आउनुभएका थापा पछिल्लो समय अगुवा किसानका रूपमा चिनिन थाल्नुभएको छ । आफ्नै ८ रोपनी जग्गामा मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आउनुभएका उहाँले एक सिजनमा करिब दुई लाख रुपैयाँ आम्दानी गर्दै आउनुभएको छ । रासायनिक मल प्रयोग नगरी जैविक विधिबाट खेती गर्ने उहाँको खेत छिमेकी किसानका लागि सिकाइको थलो बनेको छ ।
यस्तै दैलेखकै ठाटिकाँध गाउँपालिका–६ का हरि बहादुर रोकायले पनि व्यावसायिक तरकारी खेतीमार्फत वार्षिक दुई लाख रुपैयाँसम्म आम्दानी गर्दै आउनुभएको छ । छोरा–छोरीको लालनपालनका लागि भारतका विभिन्न सहरमा मजदुरी गर्दै आउनुभएका रोकायले आफ्नै गाउँमा बसेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने कल्पना गर्नुभएको थिएन । “भारतमा पसिना बगाउँदा पनि जीवन सजिलो थिएन,” रोकाय भन्छन्, “घरमै तरकारी फलाएर आम्दानी हुन थालेपछि विदेश जानु परेन ।” सुरुमा घरायसी प्रयोजनका लागि लगाइएको तरकारी विस्तारै व्यावसायिक बन्दै गयो। अहिले उहाँले अन्य सबै काम छोडेर पूर्ण रूपमा तरकारी खेतीलाई नै पेशा बनाउनुभएको छ ।
थापा र रोकाय मात्र होइन, पछिल्लो समय उमेरका कारण अन्यत्र काम गर्न नसक्ने धेरै किसानहरू तरकारी खेतीमार्फत आत्मनिर्भर बन्दै गएका छन् । उनीहरू ‘डिसिए नेपाल’को आर्थिक सहयोग तथा ‘सोसेक नेपाल’द्वारा सञ्चालित ग्रिन कर्णाली परियोजनासँग जोडिएपछि थप उत्साहित बनेका हुन् ।
परियोजनामार्फत प्राप्त प्लास्टिक टनेल, थोपा सिँचाइ, गुणस्तरीय बीउ, जैविक मल तथा प्राविधिक तालिमले किसानहरूको उत्पादन र आत्मविश्वास दुवै बढाएको स्थानीय तहको भनाइ छ । गाउँमै रोजगारी र आम्दानी सम्भव छ भन्ने सन्देश यी किसानहरूले आफ्नै जीवनमार्फत दिएका छन् । परियोजनाले गुराँस गाउँपालिका, दुल्लु नगरपालिका र अक्षाम जिल्लाको तुर्माखाँद गाउँपालिकामा काम गर्दै आइरहेको छ ।

