एमालेको इतिहासमै कर्णालीले पायो पहिलो पदाधिकारी, सचिव बने यामलाल

सुर्खेत : नेकपा एमालेको इतिहासमै पहिलो पटक कर्णालीले पदाधिकारी पाएको छ । र, त्यो इतिहास रच्ने अवसर पाउनुभएको छ ११औँ महाधिवेशनबाट सचिवमा निर्वाचित यामलाल कँडेलले । १० वैशाख २००६ सालमा स्थापना भएको एमाले पार्टीको पदाधिकारीमा पुग्न कर्णालीलाई करिब ७ दशक लामो यात्रा पार गर्नुपरेको छ । कर्णालीमा पुराना कम्युनिस्ट नेताहरू भए पनि केन्द्रीय नेतृत्वमा भने पुग्न सकेका थिएनन् ।
यसको प्रमुख करण भने एमाले लामो समय बहुपदीय प्रणालीमा नजानु, यो क्षेत्रको प्रभावशाली नेता नहुनु र केन्द्रीय नेतृत्वको उपेक्षामा पर्नु रहेको एमाले नेता विष्णु रिजाल बताउँनुहुन्छ । ‘हाम्रो पार्टीको इतिहासमा पहिलो पटक कर्णालीले पदाधिकारी पाएको छ,’ नेता रिजालले भन्नुभयो पार्टीको यति लामो इतिहासमा अहिलेसम्म कर्णालीमा पदाधिकारी नपुग्नुको भने धेरै कारण छन् ।’
२०४९ मा काठमाडौंमा सम्पन्न एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट पहिलो पटक अध्यक्ष र महासचिव हुने व्यवस्था गरिएको थियो । तर कार्यकारी भूमिका भने महासचिव नै थिए । पाँचौंबाट मनमोहन अधिकारी अध्यक्ष र मदन भण्डारी महासचिव चयन हुनुभयो । तर, २०५९ मा जनकपुरमा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष पद खारेज गरियो । २०६५ बुटवलमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई बहुपदीय सामूहिक नेतृत्वमा रूपान्तरण गर्ने निर्णय गरेको थियो ।
बहुपदीय अवधारणा पारित भएपछि एमालेले कम्युनिस्ट पार्टी भएर पनि आन्तरिक लोकतन्त्रको उन्नत अभ्यास गर्न थालेको नेता रिजालले बताउनुभयो । त्यतिबेला तत्कालीन मध्यपश्चिम क्षेत्रबाट उपाध्यक्ष वामदेव गौतम पदाधिकारीमा पुग्नुभएको थियो ।
२०७८ मा चितवनमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनमा कर्णालीले पदाधिकारी पाउनुपर्छ भन्ने आवाज चर्को रूपमा उठेको थियो । नेता यामलाल कँडेलले नै आफूलाई सचिवको उम्मेदवारमा रूपमा प्रस्तुत गर्दै भोट समेत माग्न थाल्नुभएको थियो । तर सहमतीमा पदाधिकारी भएपछि कडेल त्यतीबेला पदाधिकारीमा अटाउन सक्नुभएन ।
११औँ राष्ट्रिय महाधिवेशन हुँदै गर्दा कर्णालीले फेरि एक पटक पदाधिकारी पाउनुपर्छ भन्ने आवाज जोडदारका साथ उठाइरहेको थियो । कर्णालीले भूगोल मात्र नभई सामर्थ्यका हिसाबले पनि पार्टीको पदाधिकारी पाउनुपर्ने स्वयं कँडेलले बताउँदै आउनुभएको थियो ।
पार्टीको केन्द्रीय पदाधिकारीमा कर्णालीको प्रतिनिधित्व नहुँदा हाम्रो आवाज सुनिएन भन्ने नेता तथा कार्यकर्ताको मनोभावना ११औं महाधिवेशनले अनुमोदन गरेको छ । एमाले पार्टी इतिहासमा पहिलो पटक कर्णालीले केन्द्रीय सचिवका रूपमा यामलाल कँडेललाई पाएको छ ।


