Loading... आजः आइतवार, बैशाख ६, २०८३
Trending

बेरुजु र सेवा प्रवाहमाथि नागरिकका गुनासै–गुनासा


कमल शर्मा
दैलेख  :   डुगेश्वर गाउँपालिकामा देखिएको बेरुजु, पारदर्शिता कमी र सेवा प्रवाहमा समस्याबारे नागरिकले सार्वजनिक सुनुवाइमा गुनासो व्यक्त गरेका छन् । आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षा र २०८२/०८३ को पहिलो चौमासिक अवधिमा प्रवाह गरिएका योजना तथा सेवाहरूको प्रभावकारिता सम्बन्धी सार्वजनिक सुनुवाइमा नागरिकले गाउँपालिकामा १८ करोड रुपैयाँभन्दा बढी बेरुजु, नीतिगत कमजोरी र भ्रष्टाचार, साथै समयमै सेवा नपुग्ने समस्यामा सम्बन्धी जनप्रतिनिधि र कर्मचारीसँग गुनासो गरेका छन् । आवश्यकताका आधारमा योजना छनोट, कृषक र पशु पालकलाई समयमै मल, बिउ–बिजन तथा नश्ल सुधारका सामग्री नपठाइएको र कृत्रिम गर्भाधान सेवामा चर्को शुल्क तिर्नुपरेको, विकास निर्माणमा अनुगमन फितलो भएको लगायतका प्रश्न गरेका थिए ।
डुगेश्वर–६ का डम्बर बहादुर वाग्लेले उपाध्यक्ष छात्रवृत्ति पहुँच भएकै व्यक्तिले पाएको र वास्तविक आवश्यकता भएका विद्यार्थी छुटेको आरोप लगाउनुभयो । उहाँले गाउँपालिका बाट सञ्चालन हुने योजना, शिक्षक कर्मचारी सरुवा,कृषि तथा पशुपालक किसानका लागी आवश्यक पर्ने औषधी,मल,बिउ बिजन तथा प्राविधिक सहयोगमा कमी आएको बताउनुभयो । उहाँले भन्नुभयो पहिलो चौमासिकमा खरिद गर्नु पर्ने औषधी अहिले सम्म समेत खरिद गर्न नसकेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।
वडा नं. ६ का पूर्व वडा अध्यक्ष बम बहादुर बिसीले बेरुजुको स्पष्ट वर्गीकरण नगरी कति रकम असुल र फछ्र्योट गर्ने भन्ने जानकारी नदिइएको, नीतिगत भ्रष्टाचारमा सुधार नदेखिएको भन्दै गाउँपालिकालाई बदनाम गराएको बताउनुभयो । उहाँले कर्मचारीका कारण यहाँका जनप्रविधिको समेत बदनाम हुने गरेको बताउँदै त्यसको सुधारका लागी प्रमुख प्रशासकीय अधिकृतले कार्य योजना ल्याउनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो नीतिगत रूपमा देखिएको बेरुजु,असुल उपर गर्नु पर्ने बेरुजुका सवालमा गाउँपालिका गम्भीर बुन्नुपर्दछ ।
गाउँपालिका अध्यक्ष सुन्दर कुमार केसीले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार बजेट खर्च भइरहेको भए पनि महालेखा परीक्षकले नीतिगत समस्या औँल्याएको र हाल करिब १८ करोड रुपैयाँ बेरुजु रहेको जानकारी दिनुभयो । हामीले कुनै कमजोरी गरेको जस्तो लाग्दैन कतिपय कुरा नीतिगत अनुसार भएको भए पनि आवश्यक कागजपत्र रुजु नहुँदा बेरुजु बढेको बताउनुभयो । उहाँले भन्नुभयो नागरिकले गरेको प्रश्न,सुझाव र गुनासोले आगामी दिनमा सुधार गर्न सहयोग पु¥याउँछ ।
प्रमुख प्रशासकीय अधिकृत श्रीशमशेर रानाले सार्वजनिक सुनुवाइले जनप्रतिनिधि र कर्मचारी जिम्मेवार बनाउने र सेवाप्रति असन्तुष्टि भए हाकाहाकी प्रश्न गर्न नागरिकलाई प्रोत्साहित गर्ने बताउनुभयो । उहाँले सार्वजनिक सुनुवाइ कार्यक्रममा आएका गुनासो,प्रश्न र सुझावका आधारमा पाँच बुद्धे प्रतिबद्धता गरिएको बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०८२/०८३ का ८० वटा योजना तथा आयोजना मध्ये १० वटाको मात्र सम्झौता भएको हुँदा बाँकी ७० वटा योजनाको सम्झौताको गति अघि बढाउने , महालेखाको प्रतिवेदन अनुसार बेरुजु नियन्त्रणका लागि नीतिगत समस्या समाधानका लागी पहल गर्ने, सार्वजनिक बिदाको दिन समेत सवारी साधनको दुरुपयोग रोक्न पहल गर्ने, गाउँपालिका तथा विभिन्न निकायबाट सञ्चालन गरिएका योजना तथा आयोजनाको गुणस्तरका लागि नियमित अनुगमनलाई प्रभावकारी बनाउने र पछिल्लो समयमा नागरिकको बसाइँ–सरी जाने समस्याको निराकरणका लागि वार्षिक नीति तथा कार्यक्रम ल्याउनका लागी पहल गर्ने प्रतिबद्धता गरिएको छ । नागरिकले सार्वजनिक सुनुवाइमा उठेका मुद्दा तुरुन्त सम्बोधन गरी सुशासन र गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्न गाउँपालिकामा तत्काल सुधारको कार्य योजना ल्याउन समेत माग राखेका छन् । गाउँपालिकाका वडाअध्यक्षहरुले गाउँपालिका तथा वडामा खरिद गर्नु पर्ने सामानहरु समेत गाउाँपलिकाले खरिद गर्नुपर्नेमा जोड दिएका थिए ।