कुलमानले जुन थालमा खाए, त्यही थालमा छेद हाल्न खोजे : प्रचण्ड

सुर्खेत : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्मा शहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रहेका कुलमान घिसिङले जुन थालमा खाए, त्यही थालमा छेद हालेको टिप्पणी गर्नुभएको छ ।
शनिबार नेकपाले आयोजना गरेको कर्णाली प्रदेशस्तरीय एकता सन्देशसभालाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो लोडसेडिङबाट आक्रान्त भएको नेपाललाई लोडसेडिङमुक्त नेपाल बनाउने ऐतिहासिक कार्य त हामीले पूरा गरेकै हो । यसलाई कसैले नराम्रो भन्न त सक्दैन । भलै, अहिले कुलमानले गुन बिर्सेर जुन थालमा खाए, त्यही थालमा छेद हाल्न खोजेका छन् । तिनले त्यसो नगरून् भन्न चाहन्छु । कुलमानको बुद्धि फिरोस यस्तो बैगुनी भएर तिनले पार पाउने छैनन् ।’
कुलमानले आफूलाई छोडेर नयाँ पार्टी खोलेको प्रति लक्षित गर्दै प्रचण्डले कुलमानलाई नेपाली जनताले माफ नदिने दाबी पनि गर्नुभयो । कुलमानलाई आफूले दुईपटक प्रधानमन्त्री हुँदा टिपेर ल्याएको तर्कसमेत गर्नुभएको थियो ।
सम्बोधनका क्रममा प्रचण्डले सुदूर र कर्णालीबाट सुरु भएको एकता अभियानले नेकपालाई एक नम्बर पार्टी बनाउने दाबीसमेत गरेका थिए ।
‘नेकपाले जारी राखेका एकतासभाहरू प्रचारात्मक नभई विगतका कमीकमजोरीका विषयमा आत्मसमीक्षा र आत्मालोचना गरेर आगामी दिनमा नेपाली जनतासँग एकाकार भएर सुशासनयुक्त, भ्रष्टाचारमुक्त र आर्थिक रूपले समृद्ध, सामाजिक विभेदको अत्य गरी सामाजिक न्यायसहितको समाज निर्माण गर्ने लक्ष्य हाम्रो हो,’ प्रचण्डले भन्नुभयो ।
त्यस्तै, सभालाई सम्बोधन गर्दै नेकपाका सहसंयोजक माधवकुमार नेपालले इमानदारहरूको पार्टी नै नेकपा भएको दाबी गर्नुभयो । भ्रष्टाचार र स्वार्थी प्रवृत्तिको अन्त्य नगरी देशलाई समृद्ध बनाउन नसकिने उहाँको दाबी थियो ।
‘भ्रष्टाचार र स्वार्थी प्रवृत्तिलाई अन्त्य गरिएन र साझा भावनामा अगाडि बढ्न सकिएन भने देशलाई अगाडि बढाउन सकिँदैन । त्यसैले हामीले विगतका कमजोरी स्वीकार्दै इमानदार भएर काम गर्ने सोचका साथ पार्टी एकता गरेका हौँ ।’ उहाँले प्रचण्ड र आफू मिलेर देशमा धेरै राम्रा काम गरेको दाबीसमेत गर्नुभयो ।


