Loading... आजः मङ्लबार, पुस ८, २०८२
Trending

ज्येष्ठ नागरिकलाई घरदैलोमा सेवा


कमल शर्मा
दैलेख  :   नारायण नगरपालिका–९ साँडुका ८४ वर्षीय लालबहादुर थापा शरीर कमजोर हुँदै गएपछि घरको ढोका पार गर्नसमेत अरूको सहारा खोज्नुपर्छ। नियमित रूपमा प्रेसरको औषधि खानुपर्ने उहाँ नजिकको स्वास्थ्य चौकी पुगेर औषधि ल्याउन नसक्दा कहिलेकाहीँ घरमै बस्न बाध्य हुनुहुन्छ । “औषधि नपाए म झन् डराउँछु, रक्तचाप बढ्छ जस्तो लाग्छ,” थापाले भन्नुभयो समयमै औषधि नपाउँदा केवल उहाँ मात्र नभएर परिवार पनि सधैँ चिन्तित हुने गरेको छ ।

थापाजस्तै ७२ वर्षीय नन्दा रोकाय उमेरसँगै बढिरहेका स्वास्थ्य समस्याले सताइरहेको छ । प्रेसर र सुगरका औषधि नियमित सेवन गर्ने रोकायलाई प्रत्येक महिना औषधि लिन स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता छ । कहिले परिवार त कहिले छिमेकीको सहारामा औषधि ल्याउनु पर्ने उहाँ बताउनुहुन्छ । “बाटो लामो छ, शरीर थाक्छ, कहिलेकाहीँ ढिला हुँदा चिन्ता बढ्छ,” रोकायले अनुभव सुनाउनुभयो । बदलिँदो खानपान, बढ्दो उमेर र शारीरिक कमजोरीले गाउँका ज्येष्ठ नागरिकको दैनिकी झन् चुनौतीपूर्ण बनाइरहेको छ । कतिपयले समयमै औषधि नपाउँदा जटिल स्वास्थ्य समस्या भोग्नुपर्ने अवस्था पनि देखा परेको छ ।

त्यही दृष्टिलाई ध्यानमा राख्दै नारायण नगरपालिकाले ‘नगरप्रमुखसँग ज्येष्ठ नागरिक’ कार्यक्रममार्फत घरमै स्वास्थ्य सेवा पु¥याउन थालेको छ । यसअन्तर्गत स्वास्थ्य परीक्षण, आवश्यक औषधि वितरण र परामर्श घर–आँगनमै गरिन्छ। “हाम्रै घरमा आएर जाँच र औषधि दिँदा धेरै सहज महसुस हुन्छ,” रोकायले खुसीसाथ भन्नुभयो । घर बाहिर आउन गाह्रो भएकाले पहिले स्वास्थ्य जाँचका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता ठुलो चुनौती थियो । तर नगरपालिकाको निःशुल्क ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण अभियानले आँगनमै स्वास्थ्य सेवा पु¥याएर केवल औषधि वितरण मात्र होइन, जीवनशैली, खानपान, व्यायाम र रोग नियन्त्रणसम्बन्धी परामर्श पनि दिएकोमा हामी खुसी छौँ ।

नगरपालिकाले सुरु गरेको यो पहलले धेरै वृद्ध–वृद्धालाई राहत दिएको छ । अब ज्येष्ठ नागरिकले उपचार खोज्दै भौतारीनु नपर्ने भएपछि, उनीहरूको जीवन सहज र स्वास्थ्य सुरक्षासँग जोडिएको महसुस भइरहेको बताएका छन् । बदलिँदो खानपान, शारीरिक कमजोरी र उमेरसँगै थपिँदै गएका रोगहरूले गाउँका ज्येष्ठ नागरिकको दैनिकी झन् चुनौतीपूर्ण बन्दै गएको पाए पनि नारायण नगरपालिकाले प्रत्येक वर्ष ज्येष्ठ नागरिकलाई सम्झेर स्वास्थ्य जाँच सँगै आवश्यक औषधी वितरण गर्ने गरेको छ ।
नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले नगरप्रमुखसँग ज्येष्ठ नागरिक’ कार्यक्रममार्फत स्वास्थ्य परीक्षण, आवश्यक औषधि र परामर्श जस्तै सेवा घर–आँगनमै पु¥याउने प्रयास गरिरहेको बताउनुभयो । उहाँले यो कार्यक्रमले उपचारका लागि संस्थासम्म धाउनुपर्ने बाध्यता कम गर्दै ज्येष्ठ नागरिकलाई घरमै सेवा उपलब्ध गराउने बताउनुभयो । उहाँले भन्नुभयो घर–घर सेवा, प्रत्यक्ष भेटघाट र जीवनशैली सम्बन्धी परामर्शले ज्येष्ठ नागरिकमा केवल स्वास्थ्य लाभ मात्र होइन, नगरपालिकाले हामीलाई सम्झन्छ”भन्ने भावनात्मक भरोसासमेत जगाएको छ ।

नारायण नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लाल बहादुर खड्काले नगर प्रमुख सँग ज्येष्ठ नागरिक कार्यक्रम बाट छ सय ज्येष्ठ नागरिक लाभान्वित भएको बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकलाई स्वास्थ्य जाँच,सामाजिक सुरक्षा भत्ताको प्राप्त, एकल पुरुष भत्ता, स्वस्थ्य खानपिन र स्वास्थ्य बिमा बारेमा जानकारी समेत गराइएको बताउनुभयो ।