ईन्जिनियर रेशम वलीको झ्याउरे गीत ‘श्यामु’ सार्वजनिक

सुर्खेत : लोकगायक रेशम वलीले आफ्नै शब्द र स्वर रहेको नयाँ झ्याउरे लोकगीत ‘श्यामु’ सार्वजनिक गर्नुुभएको छ । रेशम वलीको अफिसिय युट्युब च्यालन मार्फत रिलिज गरिएको यस गीतमा प्रेम, संघर्ष र ग्रामीण जीवनको चित्रण गरिएको छ । गीत सार्वजनिक भएको एकै दिनमै २६ हजारभन्दा बढी दर्शकले हेरेका छन् ।
गीत कृपा एण्ड क्रिष्टिका प्रोडक्सन तथा श्रीनाथ फिल्मस्को व्यानरमा निर्माण भएको हो । वरिष्ठ कलाकार टिकाराम चपाईको बहुचर्चित मौलिक भाका ‘श्यामु’ लाई आधार बनाएर तयार पारिएको गीतमा रेशम वली र दिपिका बयम्बुमगरले मिठो स्वर भर्नुभएको छ । गीतको शब्द रचना रेशम वली र टिकाराम चपाईले गर्नूभएको छ भने लय टिकाराम आचार्यले तयार पार्नुभएको थियो । मौलिक शैली, सरल संगीत र आकर्षक स्वरले सजिएको गीतको म्युजिक भिडियो पनि सरल तर प्रभावकारी ढाँचामा तयार पारिएको छ । भिडियो निर्देशन चन्द्र मन्दिर मगरले गर्नुभएको छ भने छायाँङ्कन निर्मल प्याकुरेलले गर्नुभएको छ ।
‘श्यामु को म्युजिक भिडियोमा करिश्मा के.सी जनक तारामी मगर, समीक्षा सुनार, दिलुसन बुढामगर, जानकी पुनमगर, प्रेम थापामगर, बिज्जु श्रीसमगर, मौसम सुनार, लक्ष्मी गिरी, दीपेन्द्र ओली, कमला पौडेल, सुमन लामिछाने, विनिता लामिछाने, भरत शाहीलगायत कलाकारले नृत्य तथा अभिनय गर्नुभएको छ । गीत अनुसार सुहाँदो ठाउँ खोजेर लेकबेसी नगरपालिका – ८ नारजलेमा छायाँङकन गरिएको र यसकै दोस्रो भाग पनि छिटै बजारमा ल्याउने तयारी रहेको सर्जक तथा गायक वलीले बताउनुभयो ।


