सूचना प्रविधिको भरोसा मान्दैनन् राउटे


कमल शर्मा
सुर्खेत गंगटे : सुर्खेतको लेक बेसी नगरपालिका–८ गँगटे बजारको नजिकैको बनमा बिहानको हुस्सुले छपक्कै ढाकेको थियो । बालबालिका हातमा काठका विभिन्न खेलौना खेल्दै थिए । महिलाहरू भान्साका लागी पानी ल्याउँदै थिए । पुरुषहरू मुधस निर्माण गर्नमा व्यस्त देखिन्थे भने कोही छोरा छोरी खेलाएर बसेका थिए । उनीहरूको दैनिकी पूर्ण रुपमा प्रकृतिको धुन सँगै बगिरहेको थियो । त्यही वातावरणमा पुगेका पत्रकारसँग कुरा गर्दै राउटे मुखिया, ४२ वर्षीय शेर बहादुर शाहीले भन्नुभयो, “हामी जङ्गलका राजा हौँ। यहाँ सबै कुरा छ। हामी मानिसको कुरा सिधै सुन्ने र बुझ्ने तरिकामा विश्वास गर्छौँ। मेसिन, मोबाइल जस्ता उपकरणको भरोसा हामीलाई छैन।”
काठाका विभिन्न सामाग्री निर्माण गरी अन्न सँग साट्ने , बनमा पाइने कन्दमूल गिठा खोजेर जीवीको पार्जन गर्ने राउटे समुदाय पछिल्लो समयमा खानपिन जीवनशैलीमा परिवर्तनलाई स्वीकार गरेका राउटे समुदाय अहिलेको सूचना प्रविधिलाई भने अङ्गाल्न तयार भएको पाइँदैन । राउटे मुखिया शाहीले थप्नुभयो हाम्रो जीवनशैली आफैँमा स्वतन्त्रताको प्रतीक हो—कसैको नियन्त्रणमा जाँदैन । त्यसैले होला, सूचना प्रविधिको आगमनले उनीहरूमा अनौठो भय पैदा गर्छ ।मोबाइल राखेपछि मान्छेले हाम्रो तस्बिर खिच्छ, कता–कता लैजान्छ । हामीलाई थाहा हुँदैन त्यसले हाम्रो जनताका विषयमा बेला बेला असर गर्ने गरेको छ मुखिया शाहीले भन्नुभयो हाम्रो रहर, हाम्रो बास, हाम्रो मान—सबै बाहिर देखियो भने हामी कसरी जोगिने ।
राउटे समुदायमा कार्यरत नमुना जोडी शिक्षक लालबहादुर खत्रीले भन्नुभयो सूचना प्रविधि प्रति राउटेको भित्री डर केवल उपकरणप्रतिको अनभिज्ञता मात्र होइन । आधुनिक साधनले आफ्नो संस्कृति, भाषा र चलन–चल्ती बिगारिदिने आशङ्का रहेको छ । उहाँले राउटे समुदायमा मौखिक सञ्चारको परम्परालाई मान्यता दिने र त्यसै बाट आफ्नो सञ्चार चलाई रहेको उनीहरूलाई सूचना प्रविधि प्रति विश्वास नै नमान्ने गरेको बताउनुभयो । प्रत्यक्ष संवाद नै उनीहरूको सूचना प्रणाली हो । कसैले मोबाइलमार्फत सन्देश पठाए, भिडियो बनायो, वा इन्टरनेटमा राख्यो भने त्यो उनीहरूको संस्कृति बाहिरिन थालेको सङ्केत हो भन्ने बुझाइ बसिसकेको शिक्षक खत्रीले बताउनुभयो । पछिल्ला पुस्ताका बालबालिका मोबाइल,टिकटक युटुव प्रति चासो देखाएको भए पनि राउटे मुखियाले प्रयोग गर्ने नदिने डरले कसैले पनि मोबाइलको प्रयोग नगर्ने गरेको राउटे समुदायका कार्यरत अन्जु पन्तले बताउनुभयो । उहाँले कतिले सरकारी काम, भत्ता वा आपत्कालीन सम्पर्कका लागि फोन बाट कुरा गर्ने गरेको भए पनि त्यसको प्रयोग नगर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो समुदायको सबै भन्दा ठुलो विश्वास र मुखिया हुन मुखियाकै निर्देशन चल्ने भएका कारण पनि त्यहाँ अन्य प्रविधिको प्रयोग हुँदैन ।
राउटे युवा दीपक शाहीले हामीहरू प्रविधिको प्रयोग गर्न चाहेको भए पनि मुखिया मार्फत निर्देशन नभएका कारण मोबाइल बोक्न नसकोको बताउनुभयो । उहाँले भन्नुभयो हामीले मोबाइल बोकेको भए पनि हामीलाई चार्ज गर्न रिचार्ज गर्ने जस्ता समस्या हुने गरेका कारण हामी त्यसको प्रयोग गर्दैनौँ । राउटे समुदायमा आउने मानिसले फोटा भिडियो बनाएर बाहिर लैजाने समस्याले गर्दा आफूहरूमाथि समस्या हुने गरेको उहाँले बताउनुभयो ।
गुराँस गाउँपालिकाका अध्यक्ष टोप बहादुर बिसीले गुराँस गाउँपालिकाका स्थायी बासिन्दा भए पनि जङ्गलमा बस्दै आएका राउटेहरूको मौलिकता जोगाउन पनि अहिलेको प्रविधि भन्दा टाढै बस्न उपयुक्त हुने जानकारी दिनुभयो । उहाँले भन्नभयो हामीले घर बनाएर बसाउँछौ भन्दा नमानेको राउटे सूचना प्रविधि सँग टाढा हुनु नौलो कुरा होइन । राउटेहरूले अरू मार्फत भने आफूहरूलाई सामाजिक सुरक्षा भत्ताका विषयमा मोबाइल मार्फत भने कुरा गर्ने गरेको अध्यक्ष बिसीको भनाइछ । राउटे समुदायकी किशोरीलाई भिडियो बनाएर सामाजिक सञ्जालमा राख्ने र अभद्र व्यवहार गर्नेलाई प्रहरीले मुद्दा चलाएको समेत थियो ।

