Loading... आजः बुधबार, पुस ९, २०८२
Trending

एनपीएललमा प्लेअफ खेल्ने चार टिमको टुंगो लाग्यो


काठमाडौं : नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको प्लेअफ खेल्ने चार टिमको टुंगो लागेको छ। प्लेअफमा सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किङ्स र लुम्बिनी लायन्सले स्थान बनाएको हो। तीन नयाँ उपाधि दाबेदार रहेको दोस्रो संस्करणको नेपाल प्रिमियर लिगले नयाँ च्याम्पियन पाउनेछ। गत संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्स लिग चरणबाटै बाहिरिँदा गत संस्करणको उपविजेता सुदूरपश्चिमसँग तीन नयाँ टोलीले उपाधि दाबेदारी गर्ने भएका छन्।

पहिलो संस्करणमा फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित हुँदै उपाधिबाट चुकेको सुदूरपश्चिमले पनि दोस्रो संस्करणमा पुनः उपाधिमा आफ्नो दाबेदारी दिनेछ। लुम्बिनी लायन्सले पहिलो पटक प्लेअफमा स्थान बनाएको हो। त्यस्तै विराटनगर किंग्स पनि पहिलो संस्करणमा प्लेअफ समीकरणबाट बाहिर रहेको थियो। काठमाडौँ गोर्खाज पनि प्लेअफमा नयाँ टोली हो। सुदूरपश्चिम रोयल्स भने पहिलो सिजनमा पनि लिग चरणको खेल सकिँदा तालिकाको शीर्षस्थानमा रहँदै पहिलो क्वालिफायर खेलेको थियो।

पोखरा एभेन्जर्सले हालसम्म प्लेअफमा स्थान बनाउन सकेको छैन। पछिल्लो संस्करणमा प्लेअफमा स्थान बनाएका चितवन, कर्णाली र जनकपुर बाहिरिँदा काठमान्डु, विराटनगर र लुम्बिनीले यसपटक शीर्ष ४ मा आफ्नो स्थान बनाएका हुन्। पहिलो संस्करणको उपाधि विजेता रहेको जनकपुर बोल्ट अंक तालिकाको पुछारमा रहेको छ। ६ खेलमा एक मात्रै जित निकालेको जनकपुरले साविक विजेताको साख गुमायो। शीर्ष ४ भित्र अटाएको कर्णाली याक्स सातौं स्थानमा रहेको छ। पुछारमा रहेका यी दुई टोलीले यस सिजनमा लिग चरणको अन्तिम खेलमा भेट गर्नेछन्। यसमा यी दुईको प्रतिष्ठाको लडाई हुनेछ ।