पाँच पालिकामा विषादीमुक्त भान्सा अभियान


कमल शर्मा
दैलेख : दुर्गम गाउँका समेत विषादीको प्रयोगका कारण मानव जीवनमा जोखिम बढेको भन्दै जिल्लाको डुगेश्वर गाउँपालिकामा विषादीमुक्त भान्सा अभियान सञ्चालन गरिएको छ । उत्पादन बढाउने र क्षणिक लाभ लिने लोभका कारण दुर्गमका बस्तीहरूमा उत्पादन हुने हरेक बालीमा विषादीको प्रयोगले मानव जीवनमा समस्या भएको पछिल्लो समय विषादीमुक्त भाषा अभियान सञ्चालन गरिरहेको डुगेश्वर गाउँपालिकाले जानकारी दिएको छ ।
डुगेश्वर गाउँपालिकाका अध्यक्ष सुन्दर कुमार केसीले कर्णाली प्रदेश सरकारले २०७४ फागुन ६ गते बसेको मन्त्रीपरिषद्को बैठकले कर्णाली प्रदेशलाई अग्र्यानिक प्रदेश बनाउने घोषणा गरेको भए पनि त्यसलाई कार्यान्वयन गर्न चुनौती रहेको अवस्थामा डुगेश्वर गाउँपालिकामा अग्र्यानिक उत्पादन गर्नका लागी पहिलो पटक भान्सामा विषादीमुक्त अभियान सञ्चालन गरेको बताउनुभयो । उहाँले कर्णाली प्रदेश सभाको पहिलो कार्यकालमा कृषि सम्बन्धी व्यवस्था गर्न बनेको बिद्येक २०७५ पारित भएर कार्यान्वयन भएको भए पनि विषादी प्रयोगमा कडाइ गर्न प्रदेश सरकारले असफल भएको बताउनुभयो । उहाँले भन्नुभयो कर्णाली प्रदेशका ७९ वटै पालिकाका विषादी प्रयोगमा कडाइ गर्ने र भारत बाट आयात हुने तरकारीलाई परीक्षण गरेर मात्र ल्याउने वातावरण प्रदेश सरकारले निर्माण गर्न सक्नुपर्दछ ।
डुगेश्वर गाउँपालिकामा सञ्चालन गरिएको एक दिने कृषि मेला उद्घाटन गर्न सोमवार डुगेश्वर पुग्नुभएका कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहले कर्णाली प्रदेश अग्र्यानिक प्रदेश बनाउने घोषणालाई कार्यान्वयन गर्न विषादी प्रयोग सम्बन्धी मस्यौदा मन्त्रालयले निर्माण गरिरहेको बताउनुभयो । उहाँले विषादी प्रयोग सम्बन्धी आवश्यक ऐन निर्माण गरी विषादीको बिक्री वितरणका लागी छुट्टै लाइसेन्सको व्यवस्था समेत हुने बताउनुभयो । उहाँले भन्नुभयो यसले विषादी प्रयोगमा कडाइ गरेर अग्र्यानिक कृषि उत्पादनमा टेवा समेत पु¥याउनेछ । कृषि खेतीमामा आकर्षण बढाउन प्रदेश सरकारले सहुलियत कर्जा, अनुदान लगायतको व्यवस्था गरेको बताउँदै कृषकलाई व्यबसायिक कृषि खेतीमा प्रोत्साहन गर्न प्रदेश सरकार लागी परेको भन्दै शाहको भनाई थियो ।
डुगेश्वर गाउँपालिकाका कृषि विकास अधिकृत मेनका पाण्डेले कृषि बालीमा प्रयोग हुने विषादीलाई निरुत्साहित बनाउँदै गाउँपालिकाका प्रत्येक नागरिकको भान्सामा विषादीको प्रयोगलाई शून्यमा झार्न विभिन्न सचेतना मूलक कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले कृषकले उत्पादन गर्ने बालीमा रोग लागेको खण्डमा स्थानीय जडीबुटी बाट निर्माण गर्न सकिने विषादी बाहेक बजारमा पाइने विषादी प्रयोग नगर्न सुझाव दिने गरेको बताउनुभयो । उहाँले भन्नुभयो गाउँपालिका र एभरेष्ट क्लबको सहयोगमा उक्त अभियान सञ्चालन गरेका छौँ ।
एभरेस्ट क्लब दैलेखको पोषण परियोजनाका कृषि जीविकोपार्जन तथा बजारीकरण अधिकृत ललित थापाले परियोजनाले कृषकको श्रम र समयको बचत गरी कृषि उत्पादनमा जोड दिने उद्देश्यले जलबायुमैत्री कृषि प्रविधि,शत्रु जीव व्यवस्थापन पोषण तथा सर सपाइमा सुधार गरी स्वास्थ्य जीवन सुखी परिवार निर्माण गर्ने उद्देश्यले काम गरिरहेको बताउनुभयो । उहाँले विषादी प्रयोगलाई निरुत्साहित बनाउँदै भान्सामा विषादीमुक्त अभियान सञ्चालन मार्फत पोषण सुधारमा समेत टेवा पु¥याउने लक्ष्य लिएको बताउनुभयो । उहाँले भन्नुभयो पोषण सुधारका लागी महत्त्वपूर्ण काम भनेको विषादी रहित बाली उत्पादनमा जोड्दिनु हो । परियोजनाले आठबिस नगरपालिका,गुराँस गाउँपालिका ठाटिकाँध गाउँपालिका,भगवतीमाई गाउँपालिका र डुगेश्वर गाउँपालिकामा काम गरिरहेको एभरेस्ट क्लब दैलेखले जानकारी दिएको छ ।
डुगेश्वर गाउँपालिका–२ लुकारीका कृषक तेज बहादुर विकले आफूले विगतमा तरकारी तथा अन्य बालीमा विषादीको प्रयोग गर्ने गरेको भए पनि पछिल्लो समय विषादीको प्रयोगमा कमी ल्याएको बताउनुभयो । उहाँले तरकारी तथा अन्य बालीमा विषादी प्रयोग गरी धेरै आम्दानी लिन सकिने भए पनि त्यसले मानव जीवनमा समस्या हुने थाहा पाएपछि आफूहरूले प्रयोग नगर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो पछिल्लो समय यहाँका धेरै किसानले विषादी प्रयोगलाई निरुत्साहित गर्न गाई भैँसी बाख्रा समेत पाल्ने गरेका छन् ।

