समय सीमा अगावै पक्की पुल निर्माण


कमल शर्मा
दैलेख : सरकारी तथा सार्वजनिक निर्माणका काम निर्धारित समयमा सम्पन्न नगर्ने प्रवृत्तिले कर्णाली प्रदेश सरकारले ठेक्का सम्झौता अनुसार काम नगर्ने ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरिरहेको बेला दैलेखका एक निर्माण व्यवसायीले कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय पूर्वाधार विकास कार्यालय दैलेख बाट ठेक्का गरिएको ताराघाट खोला मोटरेवल पुल भने निर्धारित समयभन्दा आठ महिना अगावै सम्पन्न भएको छ ।
निर्माण व्यवसायीमा मूल्य वृद्धि, दक्षकामदारको अभाव लगायतका कारण देखाउँदै सार्वजनिक पूर्वाधार निर्माणका लागि पेस्की लिने र पछि तोकिएको समयमा निर्माण पूरा नगरी पटक–पटक म्याद थप गर्दासमेत अलपत्र पार्ने क्रम बढ्दै गएको समयमा दैलेखको नारायण नगरपालिका – महावु गाउँपालिका जोड्ने गरी ताराघाट खोलामा पक्की पुल निर्माणको ठेक्का लिएको कन्ट्रक्सनले ठेक्का सम्झौताको आठ महिना अगाडीनै काम सम्पन्न गरेको हो । पुल निर्माणको ठेक्का लिएको आर बि कन्स्ट्रक्सनले २०८३ असार १५ गते निर्माण सम्पन्न गर्ने गरी तीन करोड ६२ लाख ७६ हजार ३६३ रुपियाँमा सम्झौता गरी २०८१ वैशाख १० गते निर्माण कार्यादेश पाएको थियो । कर्णाली प्रदेश सभाका सदस्य कृष्ण कुमार बिसीले उक्त पुलको शिलान्यास गर्नुभएको थियो ।
महावु गाउँपालिका–२ का वडाध्यक्ष प्रकाश बहादुर थापाले निर्माण व्यवसायीले गरेको मेहनतका कारण समय सीमा अगावै पुल निर्माण हुनु महावु गाउँपालिका बासीका लागी खुसीको कुरा भएको बताउनुभयो । उहाँले पुल निर्माण भए सँगै बर्षायामको समयमा समेत महावु गाउँपालिकाका नागरिकलाई खोल बाट हिड्र्नु पर्ने बाध्यता अन्त्य भएको बताउनुभयो । उहाँले भन्नुभयो वर्षाको समयमा खोला बढेर गाडी नजाने हो की भन्ने चिन्ता अब हटेको छ ।
आर बि कन्ट्रक्सनका प्रोप्राइटर रूपक थापाले पुल निरन्तरको प्रयास र प्रतिबद्धता अनुसार तोकिएको समय सीमा अगावै पुल निर्माण सम्पन्न गरेको बताउनुभयो । उहाँले निर्माण कम्पनीले ठेक्का नहाल्ने र हालेको ठेक्का समय अगावै बुझाउने काम कन्ट्रक्सनले गरेको बताउनुभयो । उहाँका भन्नुभयो डिभिजन बन कार्यालयको भवन, मध्यपहाडी राजमार्ग अन्तर्गत आठबिस नगरपालिका–१ सात्तलाको काउले खोलाको पुल, चुप्रा कालभैरव जोड्ने पुल, नौमुले रापट जोड्ने पुल र कट्टी खोलाको पुल निर्माण समय सीमा अगावै निर्माण गरेका छौँ । कट्टी खोलामा समय सीमा अगाडी नै पुल निर्माण गरेका कारण कन्ट्रक्सनले छ लाख पुरस्कार समेत पाएको थापाको भनाइछ ।
पूर्वाधार विकास कार्यालय दैलेखका कार्यालय प्रमुख सिडिई प्रवीण कार्कीले ठेकेदार र कार्यालयको निरन्तर प्रयासका कारण ३० मिटर लामो मोटरेवल पुल समय सीमा अगावै पुल निर्माण गरिएको बताउनुभयो । उहाँले निर्माण व्यवसायीले तोकिएकै समयमा पुल निर्माण गरिएको अर्को छाम घाट खोलाको पुलको काम समेत छिटै सक्ने तयारीका साथ काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो निर्माणको क्रममा कुनै समस्या आएको खण्डमा तत्काल प्राविधिक पठाउने र निर्माण व्यवसायीलाई सघाउने काम कार्यालयले गरिरहेको छ । पूर्वाधार विकास कार्यालय मार्फत ठेक्का भएर ठेक्काको जिम्मा पाएका निर्माण कम्पनीले काम समयमै नगर्दा कार्यालयले निरन्तर खबरदारी गर्दा कतिपय कामहरू निर्माण हुने नसेको सिडिइ कार्कीको भनाइछ ।

