Loading... आजः मङ्लबार, मंसिर १०, २०८२
Trending

निर्माणका लागी दोस्रो पटक छ महिना म्याद थप्ने तयारी

..

कमल शर्मा
दैलेख  :   एक वर्ष अगाडी नै निर्माण कार्य सम्पन्न भएर अस्पताल सञ्चालन ल्याइनु पर्ने जिल्ला अस्पताल दैलेखको भवन अझै निर्माण हुन सकेको छैन । २०७८ जेठ १० गते बाट सुरु भई २०८१ जेठ ३० गते निर्माण सम्पन्न गर्ने गरी १८ करोड २३ लाख ९९ हजार ३८१ रुपियाँ ७९ पैसा मुअकर बाहेक प्रोभिजनल सम्म बाहेक निर्माणको जिम्मा पाएको श्री प्रेरा/क्याराभान/सुपर स्टार जेभीको लापरबाहीका कारण अहिले सम्म ६५ प्रतिशत मात्र काम भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । अस्पताल प्रशासनका अनुसार २०८१ जेठ ३० गते निर्माण सम्पन्न गर्ने भए पनि पनि अस्पताल भवन निर्माण हुन नसकेको भन्दै २०८१ साउन ३० सचिव स्तरीय निर्णय गर्दै २०८२ भदौ ३० गते अस्पताल भवन निर्माण सम्पन्न गर्ने गरी म्याद थप गरिएको भए पनि अहिले सम्म निर्माणको जिम्मा पाएको कम्पनीका कारण भवन अलपत्र परेको जनाएको छ ।
जिल्ला अस्पताल दैलेखका कार्यालय प्रमुख डाक्टर मनोज विश्वकर्माले पहिलो पटक म्याद थपेको अवधिमा समेत ठेकेदारले भवन निर्माण नगरेपछि बिहीबार कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, सामाजिक विकास समितिका सभापति पूर्णबहादुर खत्री ,सचिव धोलकराज ढकाल जिल्लाका राजनीतिक दल, नागरिक समाज र निर्माण व्यवसायी तारा शाही सँग सामुहिक छलफल गरिएको बताउनुभयो । उहाँले निर्माण कम्पनीलाई निर्माण कार्य छिटो गरिदिन आग्रह गरेको भए पनि कुनै सुनुवाइ नभएको अवस्थामा सबैलाई छलफलमा बोलाई ठेक्का तोड्ने वा म्याद थप गर्ने भन्ने विषयमा छलफल गरिएको बताउनुभयो । उहाँले भन्नुभयो निर्माणाधीन भवन अलपत्र पर्ने र बेड अभाव हुँदा बिरामीलाई भुईँमा उपचार गर्ने बाध्यतामा आफूहरू परेपछि उक्त छलफल गरेका हौँ । जिल्ला अस्पताल १५ शय्याका रूपमा रहेको भए पनि ५१ शय्या सम्म सेवा अस्पतालले दिने गरेको उहाँको भनाइछ ।

बिहीबार जिल्ला अस्पतालमा जम्मा भएका जिल्लाका राजनीतिक दलले जिल्ला अस्पताल निर्माणको जिम्मा लिएको श्री प्रेरा÷क्याराभान÷सुपर स्टार जेभीकोसंग निर्माण सम्झौता तोड्न सुझाव दिएका थिए । जिल्लाका नागरिकको स्वास्थ्य प्रति निर्माण व्यवसायीले खेलबाड गरेको भन्दै तत्काल ठेक्का तोड्ने तर्फ अग्रसर हुनुपर्ने बताएका हुन । निर्माणको जिम्मा पाएको श्री प्रेरा/क्याराभान/सुपर स्टार जेभीका प्रोप्राइटर तारा कुमारी शाहीलाई काम गर्न नसकेको भन्दै ठेक्का तोड्न सुझाव दिएका छन् । नेपाली काँग्रेसका जिल्ला सभापति मणिराम रेग्मीले नागरिकको स्वास्थ्य प्रति निर्माण व्यवसायी जिम्मेवार नबनेको, म्याद थप्दा समेत बजेट फ्रिज फालेको भन्दै पुन निर्माण सम्पन्न हुने ग्यारेन्टी नभए सम्म ठेक्काको म्याद नथप्ने बताउनुभयो । उहाँले भन्नुभयो हामी राजनीतिक दललाई नागरिकले बारम्बार सोध्ने गरेको र निर्माण व्यवसायी काँग्रेस भएकै कारण केही नबोलेको भन्दै प्रश्न सोध्ने गरेको हुँदा नागरिकहरू उठेर आएको खण्डमा आफूले रोक्न नसक्ने अवस्था आउँछ ।
सरकारको नेतृत्व गरेका दलहरू आन्दोलनकै कारण आज यहाँ आइपुगेको बताउँदै तपाईँहरूले गर्ने गल्तीको भारी पार्टीले बोक्न नसक्ने सभापति रेग्मीको भनाइछ । छलफल कार्यक्रम नेकपा एमालेका उपाध्यक्ष प्रेम बुढा,राप्रपा नेपालका रण बहादुर सिंह एकीकृत समाजवादीका मायाराम अधिकारीले तत्काल निर्माण नगर्ने कम्पनीलाई कालोसूचीमा राख्ने र निर्माणको ठेक्का तोड्नु पर्ने बताएका थिए ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव धोलकराज ढकालले भवन निर्माण नहुनुमा प्रदेश सरकारको कुनै कमी कमजोरी नभएको बताउनुभयो । उहाँले सरकारका कारण भवन अलपत्र होइन निर्माण व्यवसायीका कारण ढिलाइ भएको छ । तत्काल निर्माण नहुने भएको खण्डमा जरिवाना तिरेर ठेक्का तोड्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो सरकारले आवश्यक बजेटको व्यवस्था गरेको छ तर निर्माण व्यवसायी आफै भागेपछि निर्माणको काम कसरी हुन्छ ।

जिल्ला अस्पताल दैलेखको भवन निर्माणको जिम्मा पाएको निर्माण व्यवसायीले छ महिनाको म्याद थप गरेको खण्डमा भवन निर्माण गरी हस्तान्तरण गर्ने जनाएको छ । अस्पताल भवन निर्माणको जिम्मा पाएको श्री प्रेरा/क्याराभान/सुपर स्टार जेभीको प्रो प्राइटर तारा कुमारी शाहीले अबको छ महिना भित्र भवन निर्माण गरी हस्तान्तरण गर्ने बताउनुभयो । उहाँले अस्पताल निर्माण सुरु गर्दा केही समय रुख कटान, कोरोना काल, आर्थिक मन्दी, दक्ष जनशक्तिको अभाव जस्ता समस्याले भवन निर्माण हुन नसकेको बताउँदै म्याद थपेको ६ महिना भित्र सम्पन्न गर्न आफूहरू लाग्ने बताउनुभयो । ५० शय्याको सुविधा सम्पन्न भवन निर्माण कार्य ढिलो हुँदा २०४२ सालमा बनेको पुरानो बिरामी चेकजाँच भवनबाटै अहिले बिरामीहरूलाई कोचाकोच गरी उपचार गर्नुपरेको अस्पतालले जनाएको छ । अस्पतालले दोस्रो पटक छ महिना म्याद थपका लागी आवश्यक प्रक्रिया अगाडी बढाएको छ ।