कार्यालय प्रमुखमा पत्याइँदैन महिला कर्मचारीलाई

कमल शर्मा
दैलेख ः जिल्लाको डुगेश्वर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा २०७३ चैत ४ गते देबी चालीसे हाजिर हुनुभयो । हाजिर भएको पाँच महिनामा उहाँको २०७४ भदौ १२ गते सरुवा भयो । जिल्लाका ११ स्थानीय तह मध्ये एक मात्र महिला प्रमुख प्रशासकीय अधिकृतको समय अवधि नपुग्दै सरुवा हुनुले कार्यालय प्रमुखमा महिलालाई नपत्याउने समस्या भएको देखिन्छ । उहाँ एउटा उदाहरण हुनुहुन्छ जिल्लाका स्थानीय तह तथा प्रदेश र सङ्घीय सरकारका कार्यालयहरूमा महिला कार्यालय प्रमुखमा नपत्याउने जिल्ला प्रशासन कार्यालयले राखेको विवरणले पुष्टि गरेको छ । जिल्ला प्रशासन कार्यालयले राखेको ५० वटा कार्यालय प्रमुखको विवरणमा छ वटा कार्यालय प्रमुखमा महिला मात्र भएको उल्लेख गरेको पाइन्छ ।
प्रशासनले राखेको कार्यालय प्रमुखको सूचिमा जिल्ला हुलाक कार्यालय दैलेखको प्रमुखमा निर्मला थापा, मालपोत कार्यालय दुल्लुमा डिलकुमारी योगी,नापी कार्यालय दैलेखमा निमित्त कार्यालय प्रमुख उषा खत्री, नापी कार्यालय दुल्लुमा साधना ढकाल, कृषि विकास बैकमा विद्या सापकोटा बाहेक अन्य कार्यालय प्रमुखमा पुरुष मात्र रहेका छन् ।
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत उपसचिव अनिता कुमारी ज्ञवालीले महिलाहरुलाई दोहोरो जिम्मेवारी भएका कारण पनि महिला कार्यालय प्रमुखमा नहुने बताउनुभयो । उहाँले समाजमा अझै पनि महिलालाई जिम्मेवारी दिनुहुँदैन भन्ने मान्यता र सुगममा बस्न खोज्ने समस्याले पनि महिला कार्यालय प्रमुखको जिम्मेवारी कम हुने बताउनुभयो । उहाँले भन्नुभयो महिला कर्मचारी सँग काम गर्न स्थानीय तहका जनप्रतिनिधीनै अप्ठेरो मान्ने समस्याले पनि प्रमुख प्रशासकीय अधिकृतमा महिलाहरू नल्याउने समस्या छ ।
जिल्ला हुलाक कार्यालय प्रमुख निर्मला कुमारी थापाले लोक सेवा आयोगले आरक्षण कोटा थपेका कारण पछिल्लो समय निजामती क्षेत्रमा महिला कर्मचारीको संख्या बढेको भए पनि पुरुष कर्मचारीको तुलनामा महिला कर्मचारी कम रहेको बताउनुभयो । उहाँले पछिल्लो समय सिफारिस भएका महिला कर्मचारीहरू कार्यालय प्रमुख वा प्रमुख प्रशासकीय अधिकृतका रूपमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाउने गरेको बताउनुभयो ।
मालपोत कार्यालय दुल्लुका कार्यालय प्रमुख डिल कुमारी योगीले अहिले पनि धेरै जना नागरिक पुरुष कार्यालय प्रमुखको खोजीमा हुने गरेको बताउनुभयो । उहाँले महिला कार्यालय प्रमुख भएका ठाउँमा आएर हाकिम हुनुहुन्न भन्नुहुन्छ त्यो भनेको महिला कार्यालय प्रमुख भएर आउनै सक्दैनन् भन्ने परम्परागत सोच भएको बताउनुभयो । उहाँले भन्नुभयो महिला कर्मचारीको जागिर खाने उमेर र सन्तान हुर्काउनु पर्ने बाध्यता भएका कारण धेरै महिला कर्मचारी हाकिम भएर नआउने अवस्था भएको छ । स्थानीय तहमा राती सम्म काम गर्नुपर्ने,राती सम्म काम गर्दा समाजले हेर्न दृष्टिकोण,ठेकेदार,जनप्रतिनिधि सँग छलफल गर्नुपर्ने बाध्यता लगायतले पनि स्थानीय तहमा महिला प्रमुख भएका आउन समस्या हुने गरेको कार्यालय प्रमुख योगीको भनाइछ ।
नापी दुल्लुका कार्यालय प्रमुख साधना ढकालले सेवा प्रवाह गर्दा आम नागरिकहरूको सहयोगमा सेवा प्रवाह गरिरहेको बताउनुभयो । उहाँले दुर्गम क्षेत्रमा गएर सेवा प्रवाह गर्न कठिन भए पनि स्रोत साधन भएको खण्डमा सेवा प्रवाह गर्न आफूहरूलाई समस्या नहुने बताउनुभयो । उहाँले भन्नुभयो महिला कार्यालय प्रमुख भएको कार्यालयमा नागरिकले सहजै पहुँच राख्ने र सेवा लिने गर्नुहुन्छ ।
महिला अधिकारका क्षेत्रमा क्रियाशील अधिकारकर्मी सुनिता चन्दले राज्यका हरेक निकायमा महिला सहभागीताको सवाल उठाइरहेको भए पनि राज्यका निकायमा महिला कर्मचारीलाई नपत्याउने समस्या रहेको बताउनुभयो । उहाँले महिला कर्मचारीलाई दोहोरो समस्या भए पनि सेवा प्रवाहमा अब्बल हुदादुै पनि प्रमुख पदमा महिलाको उपस्थिति कमजोर हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो कर्मचारी ल्याउँदा पनि आफ्नो बिचार मिल्ने मात्र ल्याउने समस्याका कारण महिलाहरू त्यसमा नपरेको हुनसक्छ ।


