Loading... आजः बिहिबार, अशोज २३, २०८२
Trending

जेन–जी आन्दोलनका नाममा तोडफोड र आगजनी निन्दनीय  :   कडेल

फाइल तस्बिर

सुर्खेत  :   कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले जेन–जी आन्दोलनका नाममा तोडफोड र आगजनी निन्दनीय भएको बताएका छन् । आइतबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले आन्दोलनलाई वास्तविक उद्देश्यभन्दा भिन्न ढंगले प्रयोग गरिएको बातएका हुन् ।

मुख्यमन्त्री कंडेलका अनुसार गणतन्त्र ल्याउने अभियानमा सक्रिय युवासमेत भड्काइएर घटना गराइएको हो । संघीय राजधानी काठमाडौंमा घटेका अप्रिय घटनाको असर कर्णालीमा समेत देखिएको उनले उल्लेख गरे । घटना हुनु अघि नै म काठमाडौंबाट सुर्खेत आएको थिएँ, तर सुरक्षाका कारण सञ्चारकर्मीहरूसँग प्रत्यक्ष भेटघाट गर्न सकिनँ,“ उनले भने ।

कंडेलका अनुसार कर्णाली प्रदेशसभामा सबैभन्दा बढी क्षति भएको छ । सिंहदरबार, संसद भवन र शितल निवासजस्ता ऐतिहासिक संरचनामा भएको तोडफोडपछि कर्णालीमा पनि सुरक्षा प्रणाली कमजोर भएको र आफूलाई कपासेस्थित सेनाको ब्यारेकमा बस्नुपरेको उनले जानकारी दिए । कंडेलले व्यक्तिगत प्रतिशोधका आधारमा आन्दोलन भड्काइएको आरोप लगाउँदै जनप्रतिनिधिले गल्ती गरे कानुनी निकायमार्फत सजाय दिने प्रावधान रहेको बताए । आन्दोलनका क्रममा प्रदेश सभा, प्रदेश लेखा नियन्त्रण कार्यालय, नापी कार्यालय, राजधानीमा रहेका प्रमुख दलहरूको कार्यालय तथा केही नेताहरूको घरसमेत आगजनीमा परेर ध्वस्त भएको उनले बताए ।

मुख्यमन्त्रीले सबै क्षतिग्रस्त स्थानको अनुगमन आफूले गरिसकेको जानकारी दिँदै जेन–जी आन्दोलनका नाममा भएको आगजनी र तोडफोड कुनै हालतमा स्वीकार्य नहुने प्रष्ट पारे । “समस्याका बाबजुद सरसल्लाह गरेर अघि बढ्नुपर्छ,“ उनका अनुसार समाज बलियो बनाउन एमाले, नेपाली कांग्रेस र माओवादी जस्ता प्रमुख दलहरू मजबुत हुन आवश्यक छ । साथै उनले प्रदेश मातहतका कार्यालयहरूलाई आन्दोलनको बहानामा काम रोक्ने नभई बजेट कार्यान्वयनका काम निरन्तर अघि बढाउन निर्देशन दिए ।