व्यवसायिक उत्पादनको पूर्व तयारीमा आयल निगम

कमल शर्मा
दैलेख : दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा चाइनाको जिओलोजीकल सर्भेले गरेको अध्ययनको प्रारम्भिक प्रतिवेदन अनुसार ११२ अर्ब घन मिटर प्राकृतिक मिथेन ग्यास भएको पुष्टि भए सँगै त्यसको ब्यबसायिक उत्पादनको पूर्व तयारीका लागी आयल निगमको टोली स्थलगत अध्ययन गर्न दैलेख पुगेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पेट्रोलियम पदार्थको उत्पादन, प्रशोधन र ढुवानीका लागि आर्थिक, प्राविधिक र कानुनी पक्षलगायतको अध्ययन गर्न नेपाल आयल निगम लिमिटेड इन्जिनियरिङ परियोजना विभागका निर्देशक बिनितमणि उपाध्यायको नेतृत्वमा समिति गठन गरेको थियो । समितिले परीक्षण उत्पादन कार्य कसरी अघि बढाउने, प्रशोधन, मिथेन ग्यासको खपत लगायतका विषयमा स्थलगत रूपमा अध्ययन गरी एक महिना मित्र सरकारलाई प्रतिवेदन बुझाइने उद्देश्यले स्थलगत निरीक्षण गरिएको समितिले जनाएको छ ।
नेपाल आयल निगम लिमिटेड इन्जिनियरिङ परियोजना विभागका निर्देशक बिनितमणि उपाध्यायले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको चार सदस्यीय टोलीले दैलेख पुगेर स्थलगत निरीक्षण गरिएको बताए । उनले खानी तथा भूगर्भ विभागका जिओलोजिष्ट धर्मराज खड्का, पेट्रोलियम अन्वेषण परियोजनाका मनिष कर्ण,नेपाल आयलनिगमका केमिकल इन्जिनियर दीप्ति पौड्याल, मेकानिकल इन्जिनियर भक्त भण्डारी सम्मिलित टोलीले अध्ययन गरी प्रतिवेदन बुझाउने बताए ।
खानी तथा भूगर्भ विभागका प्रवक्ता धर्मराज खड्काले जलजलेमा प्राकृतिक मिथेन ग्यास रहेको पुष्टि भइसकेपछि त्यसको उत्पादन , प्रशोधन, गरी त्यसको उपयोग कसरी गर्ने विषयमा पूर्व तयारीका लागी टोली दैलेख पुगेको बताए । उनले चाइनाको जिओलोजीकल सर्भेले गरेको अध्ययनको प्रारम्भिक प्रतिवेदन अनुसार ११२ अर्ब घन मिटर प्राकृतिक मिथेन ग्यास भनिएको भए पनि त्यसको अन्तिम प्रतिवेदन आउन अगावै त्यसका लागी आवश्यक पर्ने विविध कुराहरूको अध्ययन गर्ने उद्देश्यले उक्त टोलीले स्थलगत निरीक्षण गरिएको बताए । उनले भने अन्तिम रिर्पोट प्राप्त भएपछि विस्तृत डिजाइन, प्रशोधन प्लान्ट, ढुवानी र वितरणको मोडिलाटी तय गरी सोही अनुसारको पूर्वाधार बनाउने काम सुरु हुनेछ । मल कारखाना सञ्चालन, (सिएलजी) र (पीएलजी) ग्यासको प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा अनुसन्धान गर्न स्थलगत अध्ययनका लागी टोली जलजलेमा पुगेको र त्यसका लागी नेपाल सरकारलाई आवश्यक सुझाव दिने समितिका सदस्यले खड्काले बताए ।
पेट्रोलियम अन्वेषणमा सहयोग गरिरहेको चीनलाई उत्पादन कार्यमा पनि आर्थिक तथा प्राविधिक सहयोग गर्न आग्रह गरिएको खानी तथा भूगर्भ विभाग अन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनाले जनाएको छ । खानी तथा भूगर्भ विभागका महानिर्देशक दिनेश कुमार नापितले सरकारले पठाएको पत्रको जवाफ आई नसकेको जानकारी दिए । उनले हामीले पत्राचार गरेको करिब दुई महिना जति भयो, कुनै रेस्पोन्स आएको छैन, ‘डिसेम्बरसम्म अन्तिम रिर्पोट पठाउने कुरा छ । दैलेखको जलजले क्षेत्रमा पेट्रोलियम अन्वेषण गरिरहेको चिनियाँ सरकारी कम्पनीले उक्त क्षेत्रमा ११२ अर्ब घन मिटर मिथेन नामक प्राकृतिक ग्यास रहेको प्रारम्भिक रिर्पोट पठाएको थियो । उक्त रिर्पोटबाट उत्साही नेपालले परीक्षण उत्पादनका लागि पूर्व तयारीमा जुटेको हो । रिर्पोट प्राप्त गरे लगत्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, खानी तथा भूगर्भ विभाग र पेट्रोलियम अन्वेषण परियोजनाको टिमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले यही मङ्सिर भित्र परीक्षण उत्पादन कार्यको पूर्व तयारी सक्न निर्देशन दिनुभएको थियो
चिनियाँ सरकारको पूर्ण अनुदानमा पेट्रोलियम अन्वेषणसम्बन्धी कार्यहरू तीन चरणमा अघि बढाइएको थियो । पहिलो चरणमा विस्तृत सम्भाव्यता अध्ययन र दोस्रो चरणमा ड्रिलिङ कार्य गरिएको थियो । चाइना–एड अन वेल एन्ड ग्यास रिसोर्स सर्भे प्रोजेक्ट अन्तर्गत खानी तथा भूगर्भ विभाग, चाइना जियोलोजिकल सर्भे (सीजीएस) तथा सिबु ड्रिलिङ इन्जिनियरिङ कम्पनीले २०८१ वैशाख २८ देखि ड्रिलिङको काम सुरु गरेको थियो । २०८१ पुसमा चार हजार १३ मिटर ड्रिलिङ गरिएको थियो ।
२०७२ चैत पहिलो साता प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबिच पेट्रोलियम पदार्थको अन्वेषणमा सघाउने द्विपक्षीय समझदारी (जीटुजी) मा हस्ताक्षर भएको थियो । नेपाल–चीनबिच बेइजिङमा भएको उक्त सम्झौता अनुसार नेपाल सरकारले २०७५ माघमा दैलेखको पेट्रोलियम पदार्थको विस्तृत अन्वेषणको जिम्मा चीनलाई दिनेसम्बन्धी परियोजना स्वीकृत गरेको थियो । २०७६ मा खानी तथा भूगर्भ विभाग र चिनियाँ जिओलोजिकल सर्भे कम्पनीबीच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननसम्बन्धी सम्झौता भएको थियो ।सङ्घीय सरकारले पेट्रोलियम पदार्थको अन्वेषणको काम अघि बढाउन ४५ रोपनी जग्गा अधिग्रहणका लागि स्वीकृति दिएको थियो ।