Loading... आजः बिहिबार, अशोज २३, २०८२
Trending

फेरिँदै विधि, प्रभावकारी बन्दै शिक्षण सिकाइ


कमल शर्मा
दैलेख :  हरियो कार्पेट,गोलो टेवुल त्यसको वरिपरि मिलेर बसेका बालबालिका । झट्ट हेर्दा सहर बजारमा सञ्चालित निजी तथा मन्टेश्वरी विद्यालय जस्तै देखिने भगवतीमाई गाउँपालिका–६ चिपिनमा रहेको नेपाल राष्ट्रिय पिपल आधारभूत विद्यालयको दृश्य हो । विद्यार्थीहरू ध्यानपूर्वक शिक्षकले पढाएको सुनिरहेका छन् । कक्षाकोठाको वातावरण बालमैत्री देखिन्छ ।

शिक्षकका अगाडि प्राय विद्यार्थी सङ्कोच मानेर बस्ने विगतको अवस्थाभन्दा कक्षाकोठाको वातावरण भिन्न देखिन्छ । बालमैत्री शिक्षाअन्तर्गत शैक्षिक सामग्रीको प्रदर्शनसहित पठनपाठन गर्ने विधि लागू भएपछि बालबालिकामा पढाइमा रुचि बढेको शिक्षकहरूको अनुभव छ । कुनै समय शिक्षकले हातमा लट्ठी समातेर कक्षाकोठामा जाने गर्दथे ।

विद्यार्थीमा डर सिर्जना गरे मात्र पढाइमा मन लगाउने तथा अनुशासनमा बस्छन् भन्ने मानसिकता हुने गर्दथ्यो । तर, अहिले स्थिति बदलिएको छ । कक्षा कोठामा जाँदा लट्ठी होइन शिक्षण सिकाइका सामाग्री लिएर कक्षामा जाँदा शिक्षण सिकाई प्रभावकारी बनाउन सकिने विद्यालयले जनाएको छ ।

नेपाल राष्ट्रिय पिपल आधारभूत विद्यालयका प्रधानाध्यापक हिकमत रोकायले कक्षाकोठामा शैक्षिक सामग्री प्रदर्शन गरेर पठनपाठन गराउन थालेपछि विद्यार्थीमा पढाइप्रति रुचि र सिकाई उपलब्धिमा सुधार आएको बताए । उनले सिकाइका विभिन्न सामाग्री सँगै भित्तामा झुन्ड्याइएको शैक्षिक सामग्री राखेर पढाउने अभ्यासले बालबालिका सिकाइलाई प्रभावकारी बनाउने गरेको बताए । उनले भने शैक्षिक सामग्रीको प्रयोग गरेर अध्यापन गराउने विधि प्रभावकारी बनेको छ ।

भाषिक सीप विकास, ज्ञान र पढाइप्रति रुचि बढाउन शैक्षिक सामग्री उपयोगी भएको प्रधानाध्यापक रोकायले बताए । उनले भने विद्यालयमा कक्षा एक देखी आठ सम्म २४० विद्यार्थीमा नियमित रूपमा २३० जना विद्यार्थी नियमित विद्यालय आउने गरेका छन् त्यसको प्रमुख कारण भनेको बालमैत्री शिक्षण सिकाइनै हो ।

विद्यालयमा कार्यरत शिक्षक पदम बहादुर रोकायले शिक्षकहरूमा पनि परम्परागत शिक्षण विधिको तुलनामा शैक्षिक सामग्रीको प्रदर्शनी विधि सिकाई उपलब्धि सुधारका लागि प्रभावकारी भएको बताए । उनले विद्यालयमा नयाँ पुस्ताका शिक्षक मात्र भएका कारण अहिलेको सूचना प्रविधि,ऐन कानुन, र बालमैत्री शिक्षण सिकाइका विषयमा जानकारी भएका कारण पनि पछिल्लो समय शिक्षण सिकाई राम्रो हुने गरेको बताए । उनले भने शिक्षण सामाग्री सहितको विधिबाट विद्यार्थीहरूलाई अध्यापन गराउँदा विद्यार्थीहरूले कक्षामा अनुपस्थित हुन छोडेको छ ।
वर्लर्ड भिजन इन्टरनेश्नलको आर्थिक सहयोगमा भगवतीमाई गाउँपालिकाको समन्वय र सोसेक नेपालको सहजीकरणमा संचालनीत बाल संरक्षण, बाल प्रायोजन, समावेशी तथा गुणस्तरीय शिक्षा कार्यक्रमका बाल संरक्षण अधिकृत जनक प्रसाद अधिकारीले भगवतीमाई गाउँपालिका ३२ सामुदायिक विद्यालयमा उक्त कार्यक्रम सञ्चालन भएको जानकारी दिए ।

उनले परियोजना मार्फत कक्षा १–३ सम्मको बसाइका लागी कार्पेट, चियर कुसुम, राउन्ड टेबल, सुज ¥याक , बुक ¥याक, बाल विकासका लागी आधारभूत सिकाई सामाग्रीहरू प्रदान गरिएको बताए । उनले भने शैक्षिक सामाग्री सँगै शिक्षकका लागी पाठ्यक्रमका आधारमा तालीम दिएपछि शिक्षण सिकाई विधिमा धेरै परिवर्तन आएको छ । विगतमा बस्नका लागी आधारभूत बेन्चको समेत व्यवस्था नभएका विद्यालयहरूमा बसाई व्यवस्थापन र शिक्षण सामाग्रीले बालबालिका विद्यालयमा नियमित आउने गरेको उनको भनाइछ ।