सेवाग्राही खोज्दै सहरमा शिविर

दैलेख : सुरक्षा भत्ता पाउने सेवाग्राही खोज्दै महावु गाउँपालिका–३ बासी वडा कार्यालय वीरेन्द्रनगर सुर्खेत पुगेको छ । गाउँलेको अत्यधिक बसाइँ सराइ भएपछि गाउँपालिकाले आफ्ना सेवाग्राहीलाई खोज्दै सामाजिक सुरक्षा भत्ता नवीकरणका लागी सुर्खेत लगायतका जिल्लामा पुगेर शिविर सञ्चालन गरेका छन् ।
महावु गाउँपालिका –३ बासीका वडाध्यक्ष कृष्ण कुमार दाहालले वडाका अधिकांश बृद्धबृद्धा औषधी उपचार तथा छोरा छोरी सँग सुर्खेतमा बस्दै आएकाले वडा कार्यालयले उतै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरणका शिविर राखेको बताए । उनले सामाजिक सुरक्षा भत्ताका लागी परिचयपत्र नवीकरण गर्नुपर्ने अनिवार्य बाध्यता अनुसार अपाङ्गता, ज्येष्ठ नागरिकलाई सहज सेवा दिने उद्देश्यले वीरेन्द्रनगरपालिका–६ वडा कार्यालयको सहयोगमा उक्त शिविर सञ्चालन गरिएको बताए ।
उनले भने बृद्धवृद्धा गाउँमा आउनुपर्दा उहाँहरूलाई गाह्रो हुने भयो । कतिपय त ह्वीलचियरसहित आउनुपर्ने अवस्था छ । हाम्रा अधिकांश वडा तथा पालिकावासी सुर्खेत, बाँकेमा हुनुहुन्छ त्यसैले त्यहीँ पुगेर घुम्ती शिविर सञ्चालन गर्ने उद्देश्य पहिलो चरण सुर्खेतमा शिविर गरेका हौँ दहालले भने वडा कार्यालय बाट कम्प्युटर अपरेटर, एक जना वडा सचिव र जनप्रतिनिधि खटिएको छ । शिविर १२ गते देखी १४ गते सम्म तीन दिन सञ्चालन भएको थियो ।
महावु गाउँपालिकाका अध्यक्ष जङ्ग बहादुर शाहीले सुर्खेत लगायत बाँके बर्दिया बस्ने नागरिकलाई सेवा दिने उद्देश्यले पहिलो चरण वडा न ३ बाँसीले शिविर सञ्चालन गरेको र आगामी वर्षदेखि अन्य वडा कार्यालय वा गाउँपालिका आफैले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागी शिविर सञ्चालन गर्ने बताए । उनले भने सेवाग्राहीलाई सेवा दिनका लागी महावु गाउँपालिकामा घर भई विभिन्न जिल्लामा बसोबास गरेकाहरूलाई सहजताका लागी सम्बन्धित वडा कार्यालय सँग समन्वय गर्ने योजना बनाएका छौँ ।
महावु गाउँपालिका–३ घर भई वीरेन्द्रनगर ३ सुर्खेत बस्ने विष्णु बुढाले वडा कार्यालयले सुर्खेतमै सामाजिक सुरक्षा भत्ता नवीकरणका लागी बायोमेट्रिक शिविर सञ्चालन गरी सेवाग्राहीलाई सहजता बनाएको बताए । उनले भने बुद्धबृद्धालाई महावु पु¥याएर ल्याउन समस्या हुनेथ्यो वडाले यही शिविर राखेर सहयोग भयो । वीरेन्द्रनगरपालिका–६ को वडा कार्यालयमामा राखिएको शिविरमा तीन दिनमा करिव एक सय जना सेवाग्राहीले सेवा लिएका छन् । गाउँपालिकाले दिएको जानकारी अनुसार चार हजार पाँच सय जना सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेछन् भने अधिकांश बाहिर जिल्लामा बसोबास गर्ने गरेका छन् ।