Loading... आजः बिहिबार, अशोज २३, २०८२
Trending

मृत भेटिएका सुरेन्द्रको हत्या भएको पुष्टि


दैलेख  :  खोलामा मृत भेटिएका भनिएका चामुण्डाबिन्द्रासैनी नगरपालिका–६ लैनचौरका २८ वर्षीय सुरेन्द्रबहादुर शाहीको हत्या भएको खुलेको छ । रोजगारीका लागी मलेसियामा ३३ महिना बसेर असार ३२ गते नेपाल फर्केका उनको साउन १० गते महावु गाउँपालिका –४ मा रहेका रापटपुलमा हत्या गरिएको प्रहरीको अनुसन्धानमा खुलेको छ । विदेश छँदै दुई वर्ष लामो प्रेम सम्बन्धलाई विवाह परिणत गर्ने भनेकी प्रेमिकाबाट भेट भएकै दिन साउन १० गते हत्या गरिएको घटनामा आरोपित तीन जनालाई मुछिएका दैलेख जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।
प्रेमिका भनिएकी महाबु गाउँपालिका–५ काँशिकाँधकी २७ वर्षीय गङ्गा बन, उनका बुबा ६३ वर्षीय नैने बन र ५६ वर्षकी आमा भक्कु बनलाई पुर्पक्षका लागि जिल्ला कारागार थुनामा पठाइएको दैलेख जिल्ला अदालतका श्रेस्तेदार उपसचिव वीरेन्द्रबहादुर मल्लले जानकारी दिनुभयो । विवाह गर्ने सल्लाहका लागि माइतीघर बेलाएकी प्रेमिकाले महाबु गाउँपालिका–४ को काँडासिरौला र वडा नं– ५ काँशिकाँध जोड्ने रापट झोलुङ्गे पुल नजिक साउन १० गते हत्या गरी खोलामा बगाएकी प्रहरी अनुसन्धानबाट खुलेकी भन्दै जिल्ला सरकारी वकिल कार्यालयले दैलेख जिल्ला अदालतमा आइतबार दर्ता भएको ‘कर्तव्य ज्यान’ अभियोगमा मुद्दा दर्ता गरेको थियो ।
जिल्ला न्यायाधिवक्ता द्रोणदत्त पौडेल तथा सहायक जिल्ला न्यायाधिवक्ता धर्मराज न्यौपानेको अभियोग दाबी र अधिवक्ता ललितबहादुर थापाको प्रतिरक्षा बहसपछि दैलेख जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासबाट आज मङ्गलवार तीनै जना आरोपितलाई थुनामा राखी मुद्दाको तहकिकात गर्न आदेश भएको हो ।
४ वर्षको एक छोरा, ६ वर्ष र ८ वर्षकी दुई छोरी छोडेर एक वर्ष अघि श्रीमति डल्ली शाहीले गाउँकै अर्को पुरुषसंग विवाह गरी गएपछि सुरेन्द्रले विवाह गर्ने सहमतीमा मलेसियाबाट पटक पटक गरी झण्डै चार लाख ४६ हजार रुपैंयाँ पठाउन लगाएकी ती प्रेमिकाले योजनावद्ध तरिकाबाट हत्या गरेको भनी पीडित पक्षले प्रहरीमा उजुरी गरेको थियो । अविवाहित छु भनेकी ती महिलासंग विवाह गर्ने सहमतीमै पटकपटक गरी रकम सुरेन्द्रले रकम पठाउने गरेको र असार ३२ गते नेपाल र्फकिए पछि विवाहको बारे कुरा गर्दा ती महिलाले ‘यतिबेला भरखरै बज्यै बितेकोले भेट्न नसक्ने भनेकी, सुरेन्द्रको निरन्तर दवावपछि चाहिँ आफू विवाहिता भएको र छ वर्षको छोरी रहेको’ खुलाएपछि उनीहरुबी विवाद भएको थियो ।
सामाजिक सञ्जालबाटै प्रेम सम्बन्ध भएको र विवाह गर्ने सम्मको सहमति भइसकेपछि मलेसियाबाट सुरेन्द्रले दुई वर्ष अवधिमा ४ लाख ४६ हजार रुपैयाँ पठाएकोमा विवाह पनि गर्न नचाहने र रकम समेत तिर्न नपरोस् भनी ती प्रेमिकाले षड्यन्त्रपूर्ण ढङ्गबाट हत्या गरेको अभियोगमा दाबी गरिएको छ ।