Loading... आजः बिहिबार, अशोज २३, २०८२
Trending

जडिबुटि निकासीका नाममा अबैध भेपको कारोवार


कमल शर्मा
दैलेख  :  हुम्लामा संकलित जडीबुटी लोड भएको उल्लेख गरी पठाइएको कन्टेनरमा करिब ४० हजार थान विद्युतीय चुरोट भेप बरामद गरिएको छ । डिभिजन वन कार्यालय सिमकोट हुम्लाले रसिद काटेर जडीबुटी उल्लेख गरी पठाएको कन्टेनरबाट राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरी बल र इलाका प्रहरी कार्यालय राकमकर्णालीले कन्टेनर नियन्त्रणमा लिएर कोहोलपु पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख गणेश बहादुर बरालले अबैध समान ल्याइरहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय राकमकर्णाली बाट प्रहरी प्र.ना.नि. छत्र बहादुर ढकालको कमाण्डमा ५ जनाको प्रहरी टोली र सुरक्षा बेश क्याम्प डाव बाट खटिएको सस्शत्र प्रहरीको सयुक्त टोलीले गाडी नियन्त्रणमा लिएर थप अनुसन्धानका लागी राजश्व अनुसन्धान कार्यालय कोहोलपुर पठाएको बताए ।
डिभिजन बन कार्यालय हुम्लाका निमित्त डिभिजनल बन अधिकृत लोकजंग शाहीलेले कैलाश ईश्वर जडीबुटी खरिदबिक्री केन्द्रका सञ्चालक कुन्साङ दोर्जी लामाका नाममा पाँच हजार सेतो चिनि प्रतिकेजी २५ रुपैयाँ उल्लेख गरी एक लाख २५ हजार राजस्वको रसिद काटेर कन्टेनरलाई छुटपुर्जी दिएको बताए । उनले पक्राउ गरिएको कन्टेनरमा सव डिभिजन बन कार्यालय र प्रहरीले राखेको मुचुल्काको अबस्था फेरिफीकेशन नगरीको भन्दै गुनासो गरे । उनले भने डिभिजन बन कार्यालयले सव डिभिजन र प्रहरीले गरेको मुचुक्लको प्रतिबेदन नहेरी अनावश्यक कार्यालयलाई दोशी बनाइएकोछ । प्रहरी र बनले मुचुल्का गरेपछि आफुहरुलाई कन्टेनर हिडे नहिडेको जानकारी भएन।
जडीबुटी व्यवसायको आवरणमा गैरकानुनी धन्दा चलाएका लामाले कैलाश–ईश्वर जडीबुटी खरिद बिक्री संस्थाका नाममा भदौ ३ मा जाँचपासका लागि वनमा निवेदन दिएका थिए । त्यसको दुई दिन पछाडि डिभिजन वन कार्यालय सिमकोट हुम्लाका प्रमुख निमित्त डिभिजनल वन अधिकृत लोकजंग शाहीले जाँचपास गराएका थिए । ‘संकलन इजाजतबमोजिम शर्मथान राष्ट्रिय वनबाट संकलन गरी नाम्खा गाउँपालिका–१ हुम्लामा घाटगद्दी गरिराखेको तपसिल बमोजिमको वन पैदावार नियमानुसार निकासीका लागि इजाजत मागका लागि भदौ ३ गते यस कार्यालयमा पेस भएको निवेदनअनुसार सम्बद्ध सरोकारवालको रोहबरमा वन पैदावार नापतौलका लागि सबडिभिजन वन कार्यालयका कर्मचारी हटाई पठाएकोमा निजहरू घाटगद्दी स्थलमा गई संकलन इजाजतअनुसारको वन पैदावार नापतौल गरी संकलन लगतबमोजिम सबडिभिजन वन कार्यालय हुम्लाबाट वन पैदावार निकासीका लागि प्रतिवेदन साथ आवश्यक कागजातसहितको फाइल पेस हुन आएकाले २१ दिनभित्र घाटगद्दी स्थानबाट सल्लीसल्ला, बाजुरा–कालिकोट–दैलेख–अछाम–कैलाली–बर्दिया–कोहलपुर हुँदै नेपालगन्जसम्म लैजानका लागि यो छुट पुर्जी दिइएको थियो ।
नियन्त्रणमा लिइएको उक्त कन्टेनरलाई नेपालगन्ज लगेर राजस्व र भन्सारसहितको टोलीले खोलेर हेर्दा चीनबाट तस्करी गरी भित्रिएको ३९ हजार ९ सय थान भेप र २ हजार ४ सय ६ केजी सेतक चिनी फेला परेको हो । बरामद भेप करिब १० करोड रुपैयाँ बराबरको रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कन्टेनरमा पहिला ९२ बोरा सेतो चिनि मात्र रहेको बन कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र कुमार चन्दले हुम्लामा संकलित जडीबुटी लोड भएको उल्लेख गरी पठाइएको कन्टेनरमा करिब ४० हजार थान विद्युतीय चुरोट भेप फेला परेको समाचार बाहीर आए लगत्तै प्रमुख जिल्ला अधिकारीले जिल्ला सुरक्षा समितिको बैठक आह्वान गरेको बताउनुभयो । उहाँले कहा कसरी, कसको मिलेमतोमा यो काम भएको त्यसको छानबीन गरी दोषीलाई कार्वाहीका लागी प्रक्रिया अगाडी बढाइने बताए । उनले भने सुरक्षा समितिले छानबिन समिति बनाउन सक्दछ ।