शिशु चोरेर भाग्न खोज्ने बालिकालाई तीन वर्ष कैद

दैलेख : २८ दिनको नवजात शिशु चोरेर भाग्न खोज्ने १६ वर्षीय बालिकालाई दैलेख जिल्ला अदालतले ३ वर्ष ४ महिना कैद र ३३ हजार ३ सय ३३ रूपैंयाँ जरिवाना सजाय गरेको छ । जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासले अपहरण तथा शरीर बन्धक कसूरमा ३ वर्ष कैद र ३० हजार तथा आपराधिक उपद्रो कसूरमा कसूरमा २ वर्ष कैद र २० हजार समेत ५ वर्ष कैद र ५० हजार रूपैंयाँ एकीकृत सजाय भएको दैलेख जिल्ला अदालतका सूचना अधिकारी नासु हरिप्रसाद उपाध्यायले जानकारी दिए ।
एकीकृत सजाय बाल न्याय प्रणाली अनुसार बिज्याईकर्ता बालबालिकाले कसूरदारको उमेर अनुसार पाउने एक तिहाई मिनाह भई कसूरमा ३ वर्ष ४ महिना कैद र ३३ हजार तीन सय ३३ रुपैंयाँ जरिवाना कायम भएको अदालतका सूचना अधिकारी उपाध्यायले बताए ।
गएको चैत २८ गते छिमेकी गाउँमा परालको टौवामा आगो लगाएर ध्यान खिचेर शिशु सुताएको ठाउँबाट चोरेर हैरानी पारेको विषयमा पीडित पक्षले चैत ३१ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिएको थियो ।
ठाटीकाँध गाउँपालिका–१ सिलाडीका स्थानीय बमबहादुर बुढाकी २८ दिनकी छोरी श्रीया बुढा चोरिएको भोलिपल्ट चैत २९ गते विहान जंगलमा लुकी बसेको अवस्थामा छिमेकी गाउँ चामुण्डामा फेला पारिएको थियो ।