Loading... आजः बुधबार, मंसिर ११, २०८२
Trending

करेन्ट लागेर मुगुमा १० खच्चड मरे

मुगु  :   मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका १२ स्थित लुम्स गाउँमा करेन्ट लागेर १० वटा खच्चर मरेका छन् । आइतबार राति १० बजेतिर राष्ट्रिय विद्युत् प्रसारण लाइनको करेन्ट लागेर १० खच्चर मरेका हुन् ।
मुगु जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी विभाकर मिश्रले लुम्स गाउँका तीन किसानका १० खच्चर मरेको पुष्टि गरे । उनका अनुसार कर्णबहादुर मल्लका ४ वटा, जक्ति बडुवालका ३ र पृथ्वीबहादुर ऐडीको तीन वटा खच्चर मरेका हुन् । यसअघि शनिबार मात्रै त्यही स्थानमा करेन्ट लागेर एक भैंसी मरेको थियो । राष्ट्रिय प्रसारण लाइनको ट्रान्समिटर राखेको स्थानमा पुग्दा एक्कासी खच्चरमा करेन्ट लागेको हो । सहायक प्रमुख जिल्ला अधिकारी मिश्रले करेन्टले खच्चर मरेको बताए । उनले भने, सदरमुकाम देखि ४५ मिनेटको दूरीमा पर्ने लुम्समा करेन्ट लागेर खच्चर मरेका हुन् । घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ ।

छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामले विद्युत् प्राधिकरणको लापरबाहीका कारण किसानले खच्चर गुमाउनुपरेको बताए । बाटोमा ट्रान्समिटर राखिएको थियो उनले भने, करेन्ट लिक भयो । खच्चर मरे । अहिले पनि दुर्गम क्षेत्रमा खच्चरबाट दैनिक उपभोग्य सामानहरु लगायतका वस्तुहरु ढुवानी भइरहेका छन् । अहिले करेन्ट लागेर खच्चर मरेको आसपासमा जान रोक लगाइएको छ । स्थानीयले मरेका खच्चरको क्षतिपूर्ति दिन र विद्युत् सुरक्षित रुपमा जडान गर्न माग गरेका छन् ।