Loading... आजः बिहिबार, अशोज २३, २०८२
Trending

भूकम्पले क्षति भएको दरबारको पुनर्निर्माण गरिदै


जाजरकोट :  भूकम्पले क्षति पुगेको जाजरकोटस्थित पुरानो सेतो दरबारलाई छोपेर राखेको त्रिपाल हटाएपछि अहिले दरबारको थप भाग भत्किन थालेको छ । भेरी नगरपालिका–३ स्थित सदरमुकाम खलङ्गाको दरबार भूकम्पले क्षति पुगेको थियो । दरबारको जीर्णोद्धार गर्नका लागि भूकम्प गएको २० महिनापछि अहिले विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने काम सुरु गरिएको हो ।

नेपालका एक सय पर्यटकीय गन्तव्यको सूचीमा रहेको दरबार २०८० कात्तिक १७ गते रातिको भूकम्पले क्षतिग्रस्त भएको थियो । त्यसपछि दरबार सुरक्षित राख्न जिल्ला प्रशासन कार्यालयले त्रिपालले ढाकेको थियो । हाल त्रिपाल हटाएलगत्तै जेठको सुरुमा आएको पानीले दरबारको पश्चिमतर्फको भाग भत्किएको छ । प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रातीका अनुसार भूकम्पले क्षतिग्रस्त दरबार पुनर्निर्माण गर्न मन्त्रालयलाई अनुरोध गरेपछि सहरी विकास मन्त्रालयले बजेट व्यवस्थापन गरी पुरातत्व विभागले विस्तृत परियोजना प्रतिवेदन निर्माणको काम अघि बढाएको बताए ।

पर्यटकीय गन्तव्यमा सूचीकृत दरबार पुरातत्व विभागले बाहेक अन्य निकायले निर्माणको काम गर्न नपाउने भएपछि समस्या भएको छ । पुनर्निर्माणमा सरकार, सरोकारवाला निकायले बेवास्ता गर्दा बर्खाको पानीले भत्किँदै गएको छ । भूकम्पअघि सोही दरबारबाटै जिल्ला प्रशासन कार्यालयको सेवा सञ्चालनमा थियो । जाजरकोटका राजा इन्द्रनारायण शाहका पालामा विक्रम संवत् १८५२ मा निर्माण गरिएको सेतो दरबारभन्दा पश्चिमतर्फ रातो दरबार विक्रम संवत् १८०० देखि १८११ सालमा निर्माण गरिएको उल्लेख छ ।

जिल्लाका सेतो र रातो दरबार कर्णाली प्रदेशका ऐतिहासिक पर्यटकीय गन्तव्यका रूपमा परिचित छन् । दरबारलाई सङ्ग्रहालय बनाउने अभियान जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले अगुवाइ गरेको छ । सेतो दरबार राजा इन्द्रनारायण शाहदेखि स्वयम् प्रकाशविक्रम शाहले शासन गरेको पाइन्छ । अन्तिम राजा प्रकाशविक्रम शाह जाजरकोट बस्नु नभएको बताइन्छ । सेतो दरबारबाट सात जना राजाले राज्य गरेको स्थानीय पुराना यहाँका बासिन्दाले बताउने गरेका छन् । जाजरकोटका अन्तिम राजा प्रकाशविक्रम शाहले २०२४ सालमा दरबारलाई नेपाल सरकारसँग ६० हजारमा बिक्री गरेपछि सरकारी सम्पत्तिका रूपमा परिणत भएको थियो । २०१७ सालदेखि राजाहरू बस्न छोडेपछि जिल्ला प्रशासनले भोगचलन गर्दै आएको छ ।