सामूहिक प्रयास बाट अपराध नियन्त्रण : डिआइजी श्रेष्ठ

दैलेख : कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ९डिआइजी० माधव प्रसाद श्रेष्ठले सामूहिक प्रयास बाट अपराध नियन्त्रण गर्न सकिने बताएका छन् । जिल्ला स्थित नागरिक समाज,पत्रकार, उद्योगी र राजनीतिकर्मी सँग आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रहरीको एकल प्रयास बाट भन्दा पनि सबैको सामूहिक प्रयास बाट अपराध नियन्त्रण गरी सभ्य समाज निर्माण गर्न सकिने बताएका हुन । कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी समाले लगत्तै जिल्ला भ्रमणमा निस्किएका श्रेष्ठले जिल्ला प्रहरी कार्यालयको निरीक्षण पश्चात् आयोजना गरिएको कार्यक्रममा उनले उक्त धारणा व्यक्त गरेका हुन ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका सभापति मणिराम रेग्मीले विगतमा दैलेख जिल्लाको प्रहरी प्रमुख भई काम गरेको र जिल्लाका समस्या बारे जानकार भएकाले दैलेखलाई विशेष प्राथमिकता दिएर शान्ति सुरक्षा प्रदान गर्न आग्रह गरे । उनले दैलेख जिल्लामा अहिले पनि दरबन्दी अनुसारको सुरक्षाकर्मीको व्यवस्थापन हुन नसकेको बताउँदै त्यस तर्फ ध्यान दिन आग्रह गरे ।
त्यस्तै नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज प्रेम कटुवालले प्रहरी कसैको दवाव र प्रभावमा नपरी नागरिकलाई सुरक्षा प्रत्याभूत गर्नु पर्ने बताए । उनले जिल्लामा दरबन्दी अनुसार प्रहरी हुन नसक्दा प्रहरीले सम्पादन कार्यमा समस्या हुने गरेको बताए ।
उद्योग वाणिज्य सङ्घ दैलेखका अध्यक्ष नरेन्द्र थापाले जिल्लाको शान्ति सुरक्षालाई मजबुद बनाउन प्रहरीले विशेष योजना बनाउनु पर्ने बताए । उनले पछिल्लो समय चोरी गर्नेको सख्यामा बृद्धि हुँदा ब्यबसायीलाई समेत चुनौती रहेको बताउँदै त्यस तर्फ प्रहरीले विशेष ध्यान दिनु पर्ने बताए ।
नेकपा एमाले कर्णाली प्रदेशका सदस्य इन्जिनियर महेश ढुङ्गानाले प्रहरीले दिने सेवामा डिजिटाइलेसन हुनु पर्ने बताए । उनले प्रहरीले तत्काल नागरिकका समस्या समाधान गर्न त्यस तर्फ विशेष ध्यान दिनु पर्ने बताए ।
अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश नागरिक समाज,पत्रकार, राजनीतिक दलले दैलेख जिल्लामा लागु औषधको प्रयोगले युवाहरू जोखिममा परेको बताउँदै त्यस तर्फ प्रहरीले विशेष निगरानी गर्नु पर्ने बताएका थिए ।