Loading... आजः बिहिबार, अशोज २३, २०८२
Trending

सुदूरपश्चिममा कोरोना संक्रमित बढे


धनगढी  :  सुदूरपश्चिममा दिनहुँ कोरोना संक्रमित बढिरहेका छन् । भारतबाट स्वदेश फर्किएकाहरुमा चार दिनको अवधिमा १३ जनामा संक्रमण पुष्टि भइसकेको छ । त्यसमा पनि पर्याप्त संख्यामा परीक्षण नै हुन सकेको छैन ।

कैलालीको गौरिफन्टा सीमा नाकामा शनिबार तीन जना र बैतडीको झुलाघाट नाकाबाट आएका एक जनामा संक्रमण देखिएको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र सुदूरपश्चिमले जनाएको छ । केन्द्रका महामारी नियन्त्रण स्रोत व्यक्ति हेमराज जोशीका अनुसार शनिबार गौरिफन्टा नाकाबाट आएका २७ जनाको एन्टीजेन परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको हो भने झुलाघाट नाकामा गरिएको एक जनाको परीक्षणमा संक्रमण पुष्टि भएको हो ।

दैनिकजसो कोरोना संक्रमण पुष्टि भइरहेको भए पनि आवश्यक परिमाणमा परीक्षण किट नभएर समस्या भइरहेको केन्द्रले जनाएको छ । ‘शुक्रबार काठमाडौंबाट दुई सय किट पठाइएको भए पनि जोगाएर परीक्षण गर्नु परेको छ,’ जोशीले भने, ‘किट फारु गरेर उच्च शंकास्पद व्यक्तिहरुलाई मात्र परीक्षण गरिरहेका छौं ।’ शनिबार सुदूरपश्चिमका गड्डाचौकी कञ्चनपुर, झुलाघाट बैतडी, गौरीफन्टा र खकरुला सीमा नाका कैलाली, पुलघाट र जोलजीवी सीमानाका दार्चुलाबाट गरी भारतबाट एक हजार ११६ जना स्वदेश भित्रिएका छन् । किट अभावकै कारण गौरिफन्टा र झुलाघाट गरी २८ जनाको मात्र परीक्षण गरिएको केन्द्रले जनाएको छ ।

संक्रमण पुष्टि भएकाहरुलाई सम्बन्धित स्थानीय तहमा सम्पर्क गरेर होम आइसोलेसनमा पठाउने गरिएको जोशीले बताए । संक्रमण बढ्दो क्रममा देखिएपछि सीमा नाकामा निगरानी बढाइएको र आवश्यक सतर्कताका लागि सबै स्थानीय तहका स्वास्थ्य शाखालाई पत्राचार गरिएको उनले बताए ।