जोखिम मोल्न नचाँहदा विकासका काम प्रभावित

कमल शर्मा
दैलेख : स्थानीय ,प्रदेश तथा संघिय सरकारका निकायमा कार्यरत कर्मचारीले जोखिम मोल्न नचाहेका कारण विकास निर्माणमा बाधा पर्ने गरेको स्थानीय तहका जनप्रतिनिधिले बताएका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कर्णाली प्रदेश कार्यालयले मंगलबार दैलेखमा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रर्वद्धन विषयक जिल्लास्तरिय अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकाँस जनप्रतिनिधिले काम गर्दै गर्दा अख्तियारमा उजुरी पर्ने र कर्मचारीले जोखिम मोल्न नचाहेका कारण अधिकाँस आयोजनाहरुको काम प्रभावित पर्ने गरेको बताएका छन ।
नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले स्थानीय तहमा रिसिवीका कारण अख्तियारमा उजुरी पर्ने र अख्तियार मात्र पत्र पठाएपछि काम रोक्नु पर्ने बाध्यता आइपरेको बताए । उनले स्थानीय सरकारले काम गर्न खोज्दा पहिला नै अख्तियारमा उजुरी पर्ने र त्यसपछि कर्मचारीले नै जोखिम मोल्न नचाहने समस्याका कारण स्थानीय तहमा विकासका काममा ओझेल पर्ने गरेको बताए । उनले भने अख्तियारले पठाएको पत्र अनुसार आवश्यक कागजात बनाएर पठाएको भएपनि त्यसको तत्कालन निराकण गर्ने उपाय नहुदा काम प्रभावित हुने गरेकोछ ।
भैरवी गाउँपालिकाका उपाध्यक्ष देवी भण्डारीले राम्रा काम गरौँ भनेर योजना तथा बजेट बिनियोजन गरेको भएपनि कतिपय योजनाका विषयमा अख्तियारमा उजुरी दिने समस्याले स्थानीय तहमा समस्या हुने गरेको बताइन । उनले भनिन कर्मचारीलाई काम अगाडी बढाऔँ भन्ने हो भने अख्तियारमा उजुरी परेको छ त्यसको टुङगो नलागे सम्म काम नगर्ने कर्मचारीको अडानका कारण स्थानीय तह समस्यामा छन । स्थानीय तहमा कार्यरत कर्मचारीलाई कस्तो उजुरी हो त्यसले पछि आफुलाई समस्या पार्छ पादैन भन्ने कुरा जानकारी गराउनुपर्नेमा जोड दिइन । ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग कर्णाली प्रदेश सुर्खेतका प्रमुख रामकृष्ण पुडासैनीले तीन तहका सरकारबाट हुने कामहरूमा विभिन्न अनुदान वितरण, करार कर्मचारीका विषय,, प्राकृतिक स्रोत साधन दोहन, सार्वजनिक क्षेत्र अतिक्रमण, राहत वितरण, तालिम गोष्ठी, जस्ता कामहरू, डिपिआर निर्माण, हाईटेक नर्सरी निर्माण लगायतका कामहरूमा अख्तियारमा उजुरी पर्ने गरेको बताए । उनले कुनै योजनाको काम सम्पन नहुदै भुक्तानी दिने समस्याले स्थानीय तहमा उजुरीको सख्या बढ्दै गएको बताए ।
निर्वाचित जनप्रतिनिधिहरूले नीति, नियम र कानुन अनुसार काम गरेको खण्डमा अख्तियारमा उजुरी पर्दैमा समस्या हुदैँन । उनले जनताको पक्षमा विकासका कामहरू गर्न, विकासमा सुशासन, पारदर्शिता र दिगोपना कायम गर्न सरोकारवाला निकाय सबैको महत्वपूर्ण भुमिका हुने बताए । उनले थपे नियमअनुसार प्रक्रियागत रूपमा काम भएका विषयहरूमा कुनै पनि कर्मचारी वा जनप्रतिनिधिहरूले डर त्रास मान्नु पर्दैन ढुक्कले विकास गतिविधिहरू गर्नुहोला । कानुन, नीति र नियम विपरीत काम भएको भए जो कोही कारवाहीको दायरामा आउनुपर्छ तर राम्रो काम गर्ने मनसाय बोकेका जनप्रतिनिधि र कर्मचारीहरूले उजुरी परेकै भरमा डर मान्नुपर्ने अवस्था छैन,’ उनले भने ।
अनुसन्धान प्रक्रियाका लागि रकम भुक्तानी रोक्नु भनेर पत्र नआएसम्म विकासका कामहरूमा कुनै पनि समस्या नमानेर काम गर्न र सम्बन्धित निकायहरूलाई भुक्तानी प्रक्रियाका विषयहरू अगाडी बढाउने विषयमा कहीँ कतै अवरोध नहुने पनि पुडासैनीको भनाई छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा दैलेखका ३३३ उजुरी परेका छन् । अख्तियारका अनुसार दैलेखका ११ स्थानीय तहबाट २०८२ जेठ १९ गतेसम्म ३३३ वटा उजुरी परेका थिए । ती मध्ये २ सय १९ उजुरी फस्र्योट भईसकेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ ।


