Loading... आजः बुधबार, मंसिर ११, २०८२
Trending

अपहरण तथा ज्यान मुद्दामा अनुसन्धान गर्ने बाटो खुल्यो

..

काठमाडौं :  पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको अपहरण र हत्या प्रकरणमा अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ । १२ वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा आज सर्वोच्चको संवैधानिक इजलासले उत्प्रेषण आदेश जारी गरेपछि सापकोटासहित पूर्वऊर्जामन्त्री एवं काभ्रे १ का माओवादी सांसद सूर्यमान दोङविरुद्ध अनुसन्धान हुने भएको हो ।

माओवादी द्वन्द्वकालमा २०६२ साल वैशाख १६ गते काभ्रेको श्रीकृष्ण माविबाट अर्जुन लामालाई अपहरण गरिएको थियो । असारको दोस्रो सातातिर बुढाखानी गाविसको चारकिल्ला भन्ने स्थानमा उनको हत्या गरेर शव गाडिएको अवस्थामा फेला परेको थियो ।

शान्ति प्रक्रिया सुरू भएपछि अर्जुन लामाकी पत्नी पूर्णिमाया लामाले माओवादी नेता सापकोटा, दोङलगायतविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । तर, प्रहरीले जाहेरी लिन अस्वीकार गरेपछि उनले २०६९ मंसिर ७ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिन् ।

त्यसअघि सर्वोच्च अदालतले २०६४ सालमा जाहेरी दर्ता गर्न आदेश दिएको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय, काभ्रेमा जाहेरी दर्ता भई अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरियो । तर, २०६५ साउन २६ गते तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले द्वन्द्वकालीन विषय भएकाले तामेलीमा राख्ने निर्णय गर्‍यो ।

उक्त निर्णयविरुद्ध पुर्णिमाया फेरि सर्वोच्च गइन् । तर, २०६९ सालमा तत्कालीन प्रधानमन्त्री डा। बाबुराम भट्टराई नेतृत्वको सरकारले पनि उक्त फाइल तामेलीमा राख्ने निर्णय गरेपछि अनुसन्धान अघि बढ्न सकेन ।

सर्वोच्चले आज यो मुद्दा अघि बढाउन उत्प्रेषण आदेश जारी गरेको हो । आदेशपछि पूर्णिमायाका कानून व्यवसायी पुष्पराज पौडेलले भने, ‘अब प्रहरीले सापकोटालाई पक्राउ गरेर अनुसन्धान गर्न बाटो खुलेको छ ।’