Loading... आजः शनिबार, बैशाख ६, २०८२
Trending

तलब माग्दै शिक्षकले गरे नगरपालिका घेराउ

कालीकोट :  कालीकोटको खाँडाचक्र नगरपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षकले ६ महिनादेखि तलब भत्ता नभएको भन्दै नगरपालिक घेराउ गरेका छन । मासिक रूपमा पाउनु पर्ने तलब भत्ता नपाएपछि मङ्गलबारदेखि नगरपालिका अगाडि चरणबद्ध आन्दोलन सुरु गरेका छन् ।

पहिलो दिन ज्ञापनपत्र बुझाएका शिक्षकले बुधबार नगरपालिका घेराउ गरेका हुन् । चालु आर्थिक वर्षको असोजदेखि हालसम्म शिक्षकहरूले तलब तथा अन्य सेवासुविधा नपाएको भन्दै नगरपालिकाभित्र ३९ वटै सामुदायिक विद्यालयका शिक्षक कर्मचारीले खाँडाचक्र नगरपालिकाको कार्यालय घेराउ गरेका छन् ।

पहिलो दिन नगरप्रमुख कमलबहादुर शाहीलाई ज्ञापनपत्र बुझाएका शिक्षक बुधवार पनि आन्दोलनमा छन् । नेपाल शिक्षक महासङ्घ कालीकोटले यसअघि पटक–पटक तलब–भत्ता दिन आग्रह गरेका थिए ।

नगरपालिका प्रशासनले सो समस्या समाधान गर्नेतर्फ वास्ता नगरेपछि शिक्षकले ज्ञापनपत्र पेससहित आन्दोलनमा जानु परेको शिक्षकको भनाइ छ । चुलिमालिका मावि घोडेनाका प्रधानाध्यापक दिपबहादुर शाहीले तलब पाउँ भनेर पनि सरकारसँग झगडा गर्नुपरेको बताए । ६ महिनादेखि तलब सुविधा नपाएपछि बाध्य भएर ज्ञापनपत्र बुझाउने र नगर सरकारको ध्यानाकर्षण गर्न पुगेको शाहीले बताए । असोजदेखि तलब भत्ताका नाममा केही पाउन नसकेको उनको भनाइ छ ।
विद्यालय शिक्षक, विद्यालय कर्मचारी, बाल शिक्षक तथा नगर अनुदान शिक्षकको तलबभत्ता सरकारले मासिक रूपमा उपलब्ध गराउने व्यवस्था गरेको भए पनि खाँडाचक्र नगरपालिकाले विगत ६ महिनादेखि तलब भत्ता निकासा नगर्नु खेदजनक रहेको ज्ञापनपत्रमा उल्लेख छ । खाँडाचक्र नगरपालिकाभित्रका शिक्षकहरूको पिरमर्का नबुझी नगर सरकारको लापरबाहीका कारण लामो समयसम्म पनि निकासा नदिनु र पहल नगर्नु नगरको ठुलो कमजोरी ठहर गरी आन्दोलनमा उत्रनु परेको ज्ञापनपत्रमा उल्लेख छ ।