Loading... आजः शनिबार, बैशाख ६, २०८२
Trending

स्ववियु निर्वाचनमा २८ सय ६४ मत खस्यो


सुर्खेत  :   मध्यपश्चिम विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को मतदान सम्पन्न भएको छ। सोमबार बिहानदेखि सुरु भएको मतदानमा २८ सय ६४ मत खसेको छ ।
निर्वाचन अधिकृत खगेन्द्रप्रसाद अधिकारीका अनुसार समानुपातिकतर्फ २८ सय ६२ मत खसेको छ। चार हजार ३८३ मतदाता रहेको विश्वविद्यालयमा एक हजार ५१९ विद्यार्थी मतदानमा सहभागि भएनन्। निर्वाचन समितिका अनुसार मतपेटिका संकलन पश्चात बस्ने सर्वपक्षिय बैठकपछि मतगणना सुरु हुनेछ। मतदानबाट तीन पदाधिकारीसहित १७ सदस्यीय कार्यसमिति चयन हुनेछ।

स्ववियु निर्वाचन कार्यविधिअनुसार अध्यक्ष, सचिव र कोषाध्यक्ष गरी तीन पदाधिकारी र सात जना सदस्य मतदाताबाट प्रत्यक्ष निर्वाचित हुन्छन् भने सात जना सदस्य समानुपातिक पद्धतिबाट निर्वाचित हुने प्रावधान छ। दुवै प्रणालीबाट निर्वाचित १४ जना सदस्यमध्येबाट कार्यसमितिले एक उपाध्यक्ष र एक सहसचिव चयन गर्ने व्यवस्था छ। त्यसपछि कार्यसमितिमा पाँच पदाधिकारी र १२ जना सदस्य रहन्छन्।

स्ववियु नेतृत्वविहीन भएको ६ वर्षपछि विश्वविद्यालयमा निर्वाचन भएको हो। ८ भदौ २०७३ मा भएको पहिलो स्ववियु निर्वाचनबाट निर्वाचित पदाधिकारीको अवधि २०७६ मा सकिएपछि एमयूको स्ववियु नेतृत्वविहीन थियो । २०७३ भदौमा सम्पन्न पहिलो निर्वाचनबाट नेविसंघका झक्कबहादुर शाही स्ववियु अध्यक्षमा निर्वाचित भएका थिए। तर, तत्कालीन उपकुलपति उपेन्द्र कोइरालाले कार्यकाल पूरा नहुँदै २०७५ मंसिरमा स्ववियु विघटन गरिदिएका थिए।