Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

दैलेखमा पेट्रोलियम अन्वेषण : ड्रिलिङको काम ५५ प्रतिशत सकियो


कमल शर्मा
दैलेख :  दैलेखको भैरवी गाउँपालिका –१ जलजले क्षेत्रमा रहेको पेट्रोलियम पदाद्र्धको अन्बेषण अन्तर्गत ड्रिलिङको काम ५५ प्रतिशत काम सकिएको छ । चार महिना भित्र ड्रिलिङको काम सक्ने गरी गत जेठदेखि काम सुरु गरिएको भएपनि कडा चट्टानका कारण ५५ प्रतिशत मात्र ड्रिलिङकको काम सकिएको परियोजनाले जानकारी दिएको छ ।

खानी तथा भुगर्भ विभागका भूगर्भविद प्रकाश लुइटेलले चार हजार मिटर गहिराइसम्म ड्रिलिङ गर्नु पर्नेमा हाल सम्म २२ सय मिटर ड्रिलिङ भइसकेको जानकारी दिए । उनले चार महिना भित्र काम सक्ने लक्ष्यका साथ ड्रिलिङ थालीएकोमा जमिनमुनी कडा कट्टानका कारण मंसिर मसान्त सम्म ड्रिलिङको काम सक्ने अनुमान गरिएको बताए । अहिले विज्ञहरुले २/२ मिटर गहिराइबाट निस्किएका ढुंगा र माटो परीक्षण गरी तथ्यांक संकलन गरिरेहका छन् । २७ सय मिटर ड्रिलिङ भएपछि सोर्स रक, रिजर्भ वायर रक र सिल रक गरी ३ वटा थप अध्ययन हुनेछ,’ उनले भने पेट्रोलियम पदार्थ हुनका लागि तय गरेका आवश्यक मापदण्ड अन्तर्गतका संकेतहरु सफलतापूर्वक प्राप्त भइरहेको छ ।

ड्रिलिङका लागि दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको छ । हाल चिनियाँ र नेपाली गरी ७० जनाको समूहले ड्रिलिङको काम गरिरहेको छ । दैलेखको शिरस्थान नाभिस्थान पादुका स्थानमा तीन वर्षभित्र पेट्रोलियम पदार्थको अनुसन्धान सक्ने गरी चिनियाँ सरकारसँग सन् २०१९, फेब्रअरी २८ मा सम्झौता भएको थियो । सुरुआतमा तीन वर्षभित्र तीन चरणमा काम सक्ने गरी सम्झौता भएको भए पनि कोरोना महामारीका कारण सम्झौता अनुसार काम हुन सकेन ।

पहिलो चरणमा चिनियाँ प्राविधिकहरूले दैलेखको स्थलगत अध्ययन गरेर पेट्रोलियम पदार्थ हुनसक्ने सम्भावित ठाउँ पत्ता लगाएका थिए। त्यसैका आधारमा ड्रिलिङका लागी रिग हावस निर्माण गरी ड्रिलिङ काम सुरु भएको थियो । ड्रिलिङ गरेपछि कति पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लगाउन सकिन्छ भूगर्भविद लुइटेले खानी भेटिएपछि त्यसको आर्थिक विश्लेषण हुने त्यसपछि मात्र उत्पादनका आवश्यक काम अगाडी बढ्नेछन् ।

चीन सरकारको २ अर्ब ५० करोड रुपैयाँ अनुदानमा पेट्रोलियम पदार्थको अन्वेषण भइरहेको हो । भूगर्भविद्हरुले ४ हजार मिटर गहिराइसम्म ड्रिलिङ भएपछि पेट्रोलियम पदार्थ पत्ता लाग्ने बताएका छन् । अन्वेषण सफल भए देशको आर्थिक अवस्था सुधार हुनुका साथै ठूलो संख्यामा रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ । पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन अन्तर्गत पहिलो चरणको काम चिनियाँ प्राविधिक टोलीले पहिलो चरणअन्तर्गतको सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे गरी चार वटा सर्भेका काम तोकिएकै समयमा सम्पन्न गरिसकेको थियो ।