Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

असुविधा हुने गरी राखिएका प्रहरी चेक प्वाइन्ट हटाउन मुख्यमन्त्रीको निर्देशन


सुर्खेत  :   कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नागरिकलाई असुविधा हुने गरी राखिएका चेक प्वाइन्ट हटाउनका लागि सुरक्षा निकायलाई निर्देशन दिएका छन् । मंगलबार यातायात क्षेत्रमा देखिएका समस्याबारे प्रदेशस्थित सुरक्षा निकाय र यातायातसँग सम्बन्धित निकायका प्रतिनिधिहरूसँगको छलफलका क्रममा कँडेलले यस्तो निर्देशन दिएका हुन् । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दे नागरिक र व्यवसायीले दुःख नपाउने गरी चेकजाँचको व्यवस्था मिलाउन कँडेलले निर्देशन दिए । उनले भने, ‘सुरक्षाको दृष्टिकोणले चेकजाँच आवश्यक हो । तर कति ठाउँमा चेक जाँच गर्ने त्यसको पनि मापदण्ड जरुरी देखियो ।’

कर्णाली प्रदेशका विभिन्न प्रहरी चेक प्वाइन्टमा प्रहरीले यातायात व्यवसायी र यात्रुलाई दुःख दिने गुनासो बढेपछि कँडेलले उक्त विषयबारे चासो दिएका हुन् ।
चेकजाँचको नाममा सुर्खेतदेखि दैलेख हुँदै जुम्लासम्म जाँदा १७ ठाउँमा चेक प्वाइन्ट खडा गरिएको आफूले जानकारी पाएको बताउँदै कँडेलले उक्त रुटमा त्यति धेरै ठाउँमा प्रहरी चेक पोइन्ट राखेर चेकजाँच गर्नु आवश्यकता हो कि होइन भन्ने विषयमा सुरक्षा निकायले पुनर्विचार गर्नुपर्ने बताए ।

सो कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक अर्जुनबहादुर चन्दले चेक प्वाइन्ट धेरै बनाउने भन्दा मुख्य नाकामा डिजिटल रेकर्डसहितको चेकजाँच गर्ने प्रणाली विकास गर्नुपर्ने भएकोले आफूले त्यसतर्फ तयारी थालेको बताए ।