Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

सङ्घीयता र गणतन्त्रका मूल्य र मान्यताविपरीत संविधान संशोधन हुँदैन : प्रधानमन्त्री


काठमाडौँ :  प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीयता र गणतन्त्रका मूल्य, मान्यताविपरीत संविधान संशोधन हुन नसक्ने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा समसामयिक विषयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वस्थ्य प्रतिस्पर्धासहितको लोकतान्त्रिक प्रणाली आफूहरूले सङ्घर्ष गरेर र रोजेर ल्याएकाले देश र जनताका हितलाई सर्वोपरि राखेर प्रणालीलाई स्थापित गर्न सरकार कटिबद्ध रहेको स्पष्ट पारेका हुन् ।

‘यसबिचमा प्रतिगमनका लागि संविधान संशोधन हुँदैछ भनेर केही भ्रम फैलाउन खोजिएको छ । हामीले जेका लागि सङ्घर्ष गरेका छौँ र शपथ लिएका छौँ’, प्रधानमन्त्रीले भने, हामीले नै लोकतान्त्रिक प्रणाली मासेर जान सक्दैनौँ । तानाशाहीका पक्षमा हामी थियौँ भने राणा शासन र अधिनायकवादविरुद्ध लड्ने थिएनौँ । हाम्रो विश्वास लोकतन्त्रमाथि भएकाले नै लोकतन्त्रका लागि टाउको र गर्धन थापेर हामी लडेका आएका हौँ ।

प्रधानमन्त्री ओलीले संविधान संशोधनीय दस्ताबेज भएको भन्दै लोकतन्त्रका मूल्य, मान्यतालाई अझ बढी सुदृढ र समयानुकूल गर्न तथा जनताका लागि सेवा र सुशासन प्रभावकारीरुपमा दिन सकिने गरी देश र जनताको आवश्यकताका आधारमा यसको संशोधन गर्न सकिने बताए । ‘तर यो संविधानको अवयवका रूपमा रहेका सङ्घीयता र गणतन्त्रका विषयमा प्रतिकूल हुने गरी संशोधन हुन सक्दैन’, प्रधानमन्त्री ओलीले भने, ‘संशोधन गर्दा राजनीतिक र बौद्धिक छलफलका साथै सदनको दुई तिहाइ र सर्वस्वीकार्यताका पक्षलाई ध्यानमा राखेर संशोधन ल्याइनेछ ।