Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

अवरुद्ध कर्णाली राजमार्ग अझै खुलेन


कालीकोट :   तीन दिन यता लगातार परेको पानीका कारणले अवरुद्ध कर्णाली राजमार्ग अझै खुल्न सकेको छैन । राजमार्गको कालीकोट खण्डमा पाँच ठाउँमा आएको ठुलो पहिरो हटाउनेक्रम जारी रहे पनि राजमार्ग खुलाउन नसकिएको हो ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी अर्जुन केसीले राजमार्गका अन्य पहिरो हटाउन सफल भए पनि एसमोडमा आएको पहिरो पञ्छाउन केही समय लाग्ने बताए । उनले तीन वटा स्काभेटर प्रयोग गरेर एसमोडको पहिरो पञ्छाउनेक्रम जारी रहेकाले आजै साँझसम्म सडक सुचारु हुन सक्ने विश्वास व्यक्त गरे ।

पानी पुनः परेमा थप पहिरो खस्ने खतरा रहेको पनि उनले बताए । उनले भने हामीले हिजो करिव आधा पहिरो पञ्छाएका थियौँ, तर राति पुनः चटा्न फुटेर सडकमा थुप्रो पर्दा समय लाग्ने बताए । उनले विपद्को बैठक जारी रहेकाले बिस्फोटक पदार्थ प्रयोग गर्नेकि भन्ने बिषयमा छलफल हुने गरेको बताए । कालीकोट सदरमुकाम मान्मदेखि सुर्खेततर्फको सडक अबरोध भए पनि मान्म नाग्म जुम्लाखण्ड भने १० बजेटबाट सञ्चालनमा आएको छ ।

कालीकोटको पिली, टिमुरे, गाल्जे लगायतका ठाउँमा झरेको पहिरो पञ्छाएपछि मान्म नाग्म, जुम्ला सडकखण्ड सुचारु भएको हो । उक्त सडक खुलेपछि मान्म, मोल्फा, पिलि, सेरावाडामा अलपत्र परेका यातायातका साधन यात्रु र मालबाहक गाडी गन्तब्यतर्फ गएका छन । नाग्ममा रोकिएका यातायातका साधन पनि सुर्खेततर्फ हिँडेका छन् । नाग्मदेखि मान्म पुग्न चारदेखि पाँच घण्टा समय लाग्ने भएकाले त्यहाँसम्म एसमोडको पहिरो पनि एकतर्फी खुलाउन सकिन्छ भनेर प्रयास जारी रहेको प्रहरीको भनाइ छ ।