Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

काँक्रेविहार हाफ म्याराथनको उपाधि एपिएफलाई


सुर्खेत  :   दोस्रो काँक्रेविहार हाफ म्याराथनको उपाधि विभागिय टिम सशस्त्र प्रहरीको एपिएफले जितेको छ । विश्व ओलम्पिक डे का अवसरमा शुक्रबार वीरेन्द्रनगरमा आयोजना गरिएको २१ किलोमिटर हाफ म्याराथनको उपाधि एपिएफका गोपिचन्द्र पार्कीले जितेका हुन् ।

पार्कीले निर्धारित दुरी एक घण्डा नौ मिनेट १९ सेकण्डमा पार गरी उपाधि चुम्न सफल भए । यस्तै, निर्धारित दुरी एक घण्टा नौ मिनेट २४ सकेण्डमा पार गरी राजन रोकाय प्रतियोगितामा दोस्रो स्थान हासिल गर्न सफल हुँदा रामजी बस्नेत तेस्रो भए । बस्नेतले निधारित दुरी एक घण्टा नौ मिनेट ४० सेकेण्डमा पार गरे । विजयी खेलाडीहरुलाई क्रमश एक लाख, ५० हजार र ३० हजार नगदसहित ट्रफि र मेडल प्रदान गरिएको थियो ।

यस्तै, पुरुषतर्फको १० किलोमिटर दौडको उपाधी रत्नबहादुर खत्रीले प्राप्त गरे । खत्रीले निर्धारित दुरी ३२ मिनेट ५८ सेकेण्डमा पार गर्दा ३३ मिनेट ५० सेकेण्डमा पार गर्दै थिरबहादुर बुढा दोस्रो र रनबहादुर परियार तेस्रो भए । परियारले ३४ मिनेट ४८ सेकेण्डमा निर्धारित दुरी पार गरेका थिए । १० किलोमिटर तर्फ प्रथम भएका खत्रीले १० हजार, द्वितीय बुढाले सात हजार प्राप्त गर्दा तृतीय भएका परियारले पाँच हजार पुरस्कार प्राप्त गरेका थिए ।

यस्तै, महिलातर्फको १० किलोमिटर दौडको उपाधि विमला कार्कीले प्राप्त गरिन । उनले निर्धारित दुरी ४४ मिनेट १६ सेकण्डमा पार गरिन । प्रतियोगिताको दोस्रोमा संगिता बुढा र तेस्रोमा गिता सुवेदी भइन । बुढाले ४४ मिनेट ५९ सेकेण्ड र सुवेदीले ५१ मिनेट ४४ सेकेण्डमा निर्धारित दुरी पार गरिन । १० किलोमिटर तर्फ प्रथम भएका कार्कीले १० हजार, द्वितीय बुढाले सात हजार प्राप्त गर्दा तृतीय भएकी सुवेदीले पाँच हजार पुरस्कार प्राप्त गरिन । पुरुषतर्फ भएको पाँच किलोमिटर दौडको उपाधि अनिल शाहीले प्राप्त गर्दा भरत राना दोस्रो र सन्तोष शाही तेस्रो भए । उनीहरुलाई पनि क्रमश पाँच हजार, तीन हजार र दुई हजार नगदसहित सम्मान गरिएको थियो ।

यस्तै, महिलातर्फको पाँच किलोमिटर दौडमा स्वस्तिका शाहीले प्रथम स्थान हासिल गर्दा कृष्णा राना दोस्रो र उर्मिला कँडेल तेस्रो भइन । विजयी खेलाडीलाई क्रमश पाँच हजार, तीन हजार र दुई हजार नगदसहित सम्मान गरिएको थियो । पुरुषतर्फ भएको तीन किलोमिटर दौडको उपाधी साजन वलीले प्राप्त गरेका छन् । वली प्रथम हुँदा नारायण रेग्मी दोस्रो र नैनसिंह बुढा तेस्रो भए । विजयी तीनै खेलाडीलाई नगदसहित पुरस्कृत गरिएको काँक्रेविहार हाफ म्याराथनका संयोजक प्रमोद हमालले बताए ।

यस्तै, पत्रकारतर्फको तीन किलोमिटर दौडको उपाधि पत्रकार हृदय रिमाले प्राप्त गरे । रिमाल प्रथम हुँदा रमेशकुमार पाण्डे दोस्रो र सुरजकुमार सिंह तेस्रो भए । प्रतियोगितामा विजय पत्रकाहरुलाई क्रमश तीन हजार, दुई हजार र एक हजार नगदसहित पुरस्कृत गरिएको थियो । कर्णाली खेलकुद विकास परिषद्को सहयोग तथा मिड वेस्टन फिटनेस सेन्टरको अयोजनामा प्रतियोगिता संचालन गरिएको हो ।