Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

३८ प्रतिशत नागरिकमा कान कम सुन्ने समस्या

सुर्खेत  :  सुर्खेत र सल्यानका ३८.९ प्रतिशत नागरिक कान कम सुन्ने समस्याले पीडित छन् । सुर्खेत र सल्यानका पाँच वर्षभन्दा माथिको उमेर समूहका ३८.९ प्रतिशत मानिसहरुमा कान कम सुन्ने समस्या देखिएको हो । अनुसन्धान अनुसार कर्णालीमा सुगम मानिने सुर्खेत र सल्यान जिल्लामै श्रवण शक्ति कमजोर भएका मानिसको अवस्था भयाभह छ भने अन्य दुर्गम जिल्लाका नागरिक झनै पीडामा छन् भन्ने पृष्टि गर्दछ । नेपालमै पहिलो पटक कर्णाली प्रदेशका सुर्खेत र सल्यानमा गरिएको श्रवण क्षमता ह्रासको व्यापकता र कारणहरुको अध्ययन (२०२४) ले यहाँका नागरिकहरुको श्रवण क्षमताको अवस्था पत्ता लागेको हो ।

जर्मन सहयोगमा सिबिएम नेपालले गरेको यस अनुसन्धानले सर्खेत र सल्यानका अधिकांश मानिसमा विभिन्न कारणले श्रवण क्षमता ह्रास हुँदै गएको देखाउँछ । नेपाल नेत्रज्योति सङ्घ एकीकृत आँखा, कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेशको आयोजनामा श्रवण क्षमता ह्रासको व्यापकता र कारणहरुको अध्ययन नतिजा सार्वजनिक गरिएको हो ।

उक्त नजिता अनुसार सुर्खेत र सल्यानका गरी दुई हजार एक सय ४८ व्यक्ति अनुसन्धानको क्रममा सहभागी भएका थिए । जसमा ४१.२ प्रतिशत पुरुष र ५८.८ प्रतिशत महिला सहभागी थिए । कुल सहभागीमध्ये एक हजार नौ सय ४६ जना व्यक्ति पाँच वर्षभन्दा माथिका छन् । अनुसन्धानको क्रममा सुर्खेतका जम्मा सहभागी ७१.८ प्रतिशत व्यक्तिमध्ये ३९.८ प्रतिशत व्यक्तिमा श्रवण कमजोरी देखिएको छ । त्यस्तै सल्यानका जम्मा सहभागी २८.२ प्रतिशत व्यक्तिमध्ये ३६.६ प्रतिशतमा श्रवण कमजोरी रहेको पत्ता लागेको छ ।

मुख्य अनुसन्धानकर्ता डा ऋषि भट्टका अनुसार सात वटा श्रेणीका आधारमा श्रवण क्षमता पत्ता लगाइएको थियो । उनका अनुसार श्रवण क्षमताको श्रेणीका आधारमा १९.६ प्रतिशत मानिसमा हल्का श्रवण कमजोरी देखिएको थियो । जसमा सुर्खेतका १९.१ र सल्यानका २०.९ प्रतिशत नागरिक छन् । यस्तै, मध्ययम श्रवण क्षमता भएका १० प्रतिशतमा मानिसमा सुर्खेतका १०.८ र सल्यानका ८ प्रतिशत नागरिक छन् । गम्भीर मध्ययममा सुर्खेतका ४.२ र सल्यानका ४.३ प्रतिशत नागरिक, अत्यन्त गम्भीरमा सुर्खेत ०.६ र सल्यान ०.२ प्रतिशत, सुन्नै नसक्नेमा सुर्खेत ०.२ र सल्यान ०.२ प्रतिशत र एक कानबाट मात्र सुन्नेमा सुर्खेतका २.५ र सल्यानका २.१ प्रतिशत नागरिक रहेका छन् ।

अनुसन्धानको क्रममा कानको नली सुन्निएको, बाहिरी कानको संक्रमण, कानको हड्डी खिइने रोग, घोचेर वा कुनै घटनाबाट कानमा असर, कानभित्र बाहिरी वस्तुहरु छिरेको, बाहिरी कानको बनोट राम्रो नभएको, फन्गल इन्फेक्सन, कानको बाहिरी र भित्रि भागका पिप बग्ने, मध्य कानको सङ्क्रमण, कानको जालीमा प्वाल, कानेगुजी टासिको अवस्था, कान र नाक जोड्ने नलिमा समस्या र कानभित्रको हावाको चापमा गडबडी समस्या भएका व्यक्तिहरु भेटिएका भिए । साभार गोरखापत्र