हतियारधारी समुहले मुगुुमा लुटपाट
सुर्खेत : मुगु जिल्लाको एउटा गाउँमा हतियारधारी एक समुहले लुटपात मच्चाएको छ । मुगुम कार्मारोङ्ग गाउँपालिका–१, डोल्फु भन्ने गाउँमा हतियारधारी समुह प्रवेश गरेर लुटपात मच्चाएको हो । गाउँका सबैजसो मान्छेहरु यार्सा टिप्न पाटनतिर गएको बेलामा त्यसैको मौका छोपेर लुटेरा समुह गाउँमा पसेको थियो । उक्त समुहले घरघरमा खानतलासी गर्दै सर–सामान लगायत बहुमुल्य सामान नगद लुटेर लगेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय मुगुका सूचना अधिकारी, प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले घटना भएको सुचना आएको तर सबै विवरण बुझ्न निकै समस्या भइरहेको बताए । ‘उक्त स्थान सदरमुकामदेखि निकै टाढा पर्छ, निकै टाढा र विकट भएकाले फोन सम्पर्क गर्न गाह्रो भइरहेको छ,’उनले भने, त्यहाँ भएको प्रहरी घटनास्थल पुगेको भएपनि नेटवर्क समस्याले केही बुझ्न सकिएको छैन ।’
जिल्लाबाट उनकै नेतृत्वमा प्रहरीको टोली घटनास्थलतर्फ लागेपनि अहिलेसम्म पुगेको छैन । स्थानीय जनप्रतिनिधिहरुका अनुसार उक्त गाउँका सबैजसो मान्छेहरु पाटनतिर उक्लिएपछि गाउँ कुर्नका लागि केही कुकुर र बुढापाकाहरु मात्रै थिए । मुगुम कार्मारोङ्ग गाउँपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामाका अनुसार उक्त गाउँमा ४० बढी घरधुरीहरु रहेका छन् ।
अधिकांश घरमार हतियारधारी समुह पसेर सामानहरु लुटेको छ । अध्यक्ष लामाले उक्त गाउँमा पालिकाको कार्यालयदेखि पुग्न पनि एक दिन बढी लाग्ने हुँदा घटनाको वास्तविकता अझै बुझ्न नसकिएको रातोपाटीलाई बताए । आइतबार उक्त वडाका वडाध्यक्ष आएर घटनाको बारे जानकारी गराएका थिए ।
उनका अनुसार हतियारधारी समुहले गाउँमा भएका बुढाबुढी (वृद्धवृद्धा) लाई गोठमा थुनेर यातना दिएका थिए भने गाउँ कुर्न राखिएका कुकुरहरुलाई गोली हानेर हत्या गरिदिएका छन् । घरहरु फोडेर भएका गरगहनादेखि चाँदी, जडिबुटी, लत्ता कपडा सबै सामानहरु उक्त समुहले लुटेर लिएको पालिकाका अध्यक्ष लामाले बताए ।
‘गाउँमा मास्क लगाएको उक्त समुह प्रवेश गरेरपछि कुकुरहरु भुक्न थालेका रहेछन्, त्यसपछि उक्त समुहले कुकुरलाई गोली हानी मारिदिएछन्,’उनले भने, ‘गाउँमा रहेका गुम्बाका पुजारीलाई कुटपिट गरेका रहेछन् ।’
उनका अनुसार पालिकामा रहेको प्रहरीलाई घटनास्थलमा पठाइएको छ भने सदरमुकामबाट पनि आइरहेको छ। हतियारधारी समुह बन्दुक, तरवार, चक्कुसहित गाउँ पसेको थियो । गाउँमा प्रवेश गर्ने वित्तिकै उक्त समुहले बन्दुक पट्काएका थिए । घटनास्थल मुगु जिल्ला सदरमुकाम गमगढिबाट १२ घण्टा र पालिका केन्द्र पुलुबाट ६ घण्टा टाढा पैदल दुरिमा पर्दछ । जुम्लाको पातारासीबाट बरु छिटो त्यहाँ पुगिन्छ । फोन सम्पर्कको अभावमा घटनाबारे वास्तविकता बुझ्न कठिन भइरहेको छ । साभार नेपालीरैवार