मुख्य ड्रिलिङका लागी उपकरण बोकेका ट्रक सुर्खेत पुगे ,आइतबार उत्खनन स्थल पुग्ने
दैलेख : दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थको अन्तिम अन्वेषण तथा उत्खननको मुख्य ड्रिलिङका गर्नका लागी ल्याउन लागिएका उपकरण बोकेका तीन वटा ट्रक सुर्खेत पुगेका छन् । पेट्रोलियम पदार्थको उत्खननका लागी आवश्यक पर्ने दश ट्रक ड्रिलिङका मेसिनहरू चीन बाट भारतको कोलकत्ता हुँदै रुपडियाँ नाकामा पुगेको भए पनि अर्थन्त्रालयले भन्सार छुटको निर्णय नगरिदिँदा भन्सारमै रोकिएका ट्रकहरू अर्थ मन्त्रालयले निर्णय गरेपछि रुपिडियाँ नाका हुँदै सुर्खेत पुगेका हुन ।
खानी तथा भूगर्भ विभाग पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख दिनेशकुमार नापितले पेट्रोलियम पदार्थको उत्खननको अन्तिम अन्वेषण तथा उत्खननको मुख्य ड्रिलिङका गर्नका लागी ल्याउन लागिएका उपकरण बोकेका तीन वटा ट्रक सुर्खेत पुगेको जानकारी दिए । रुपिडियाँ नाकामा आएका दश वटा ट्रक मध्ये सबै भन्दा अगाडी आवश्यक पर्ने उपकरण बोकेका ट्रक सुर्खेत पुगेको जानकारी दिए । उनका अनुसार आवश्यक पर्ने उपकरण बोकेका ट्रकहरू रुपडियाँ नाकामा आउने क्रम जारी छ सबै ट्रकहरू नाकामा आएपछि पेट्रोलियम पद्धार्थको अन्वेषण स्थल जलजलेमा पुग्ने उहाँको भनाइछ ।
दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बन्दोबस्तीका सामान,मेसिन औजार उपकरण बोकेका साना ट्रकहरू रुपडियाँ नाका हुँदै दैलेख बजार पुग्ने र ठुला ट्रकहरू सुर्खेत बाट कर्णाली राजमार्ग हुँदै चामुण्डाबिन्द्रासैनी हुँदै मध्य पहाडी राजमार्ग भएर अन्वेषण स्थल पुग्ने जानकारी दिए । उनले अन्वेषणमा खटिने जनशक्ति र सामाग्रीको सुरक्षाका लागी जिल्ला सुरक्षा समिति बाट निर्णय गरेर सुरक्षाको व्यवस्था मिलाउने तयारी गरेको जानकारी दिए ।
दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा अन्तिम ड्रिलिङका लागि पूर्वाधार निर्माणका काम धमाधम भइरहेका छन् । मेसिन जडान गर्ने स्थानमा फिल्ड निर्माण, माटो कटिङ, जग्गा सम्माउने लगायतका काम सकिएका छन् । अब तेस्रो चरणअन्तर्गत पेट्रोलियम भण्डारणको अवस्था पत्ता लगाइनेछ । करिब तीन सय किलोमिटरको हाराहारीमा तीन हजारभन्दा बढी स्थानमा ड्रिलिङ गरी विस्फोटको माध्यमबाट तरङ्ग पठाइ गरिने अध्ययनबाट आएको जानकारी प्रशोधन गरी खानीको भण्डारण क्षेत्रबारे निर्क्योल गरी ड्रिलिङका लागि स्थान तय गरिएको हो । सोहीबमोजिम जलजलेमा काम भएको छ । चिनियाँ प्राविधिक टोलीले अन्तिम चरणको अन्वेषण गरेपछि दैलेखमा पेट्रोलियम खानीको अवस्था र व्यावसायिक उत्खनन सम्भावनाको टुङ्गो लाग्ने छ । अन्तिम चरणमा हुने ‘ड्रिलिङ’ लगायतको कामपछि स्थानीय क्षेत्रमा कति पेट्रोलियम भण्डारण छ भन्ने पत्ता लाग्नेछ । अन्वेषणको प्रतिवेदनले पेट्रोलियम खानी सञ्चालन गर्न सम्भव देखाएमा उत्खनन योजना अघि बढ्ने जनाइएको छ ।
दैलेखको पञ्चकोकी क्षेत्रमा पेट्रोलियम पदार्थ अन्वेषणको काम २०७६ असोजदेखि सुरु गरिएको थियो । पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन अन्तर्गत पहिलो चरणको काम चिनियाँ प्राविधिक टोलीले पहिलो चरणअन्तर्गतको सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे गरी ४ वटा सर्भेका काम तोकिएकै समयमा सम्पन्न गरिसकेको छ । नेपालको संविधान २०७२ जारी भएपछि भारतले नाकाबन्दी गरेको बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा रहँदा दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्ने सहमति चीनसँग सहमति भएको थियो । दैलेखको श्रीस्थान, नाभीस्थान, पादुका, तल्लो डुंगेश्वरलगायतका क्षेत्रहरूलाई आधार मानी चीनको पेट्रोलियम पदार्थ तथा अन्वेषण टोलीले पहिलो चरणको काम गरेको थियो ।