कोशी सरकारबाट बाहिरियो एमाले
विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एमालेसँगको सहमतिविपरीत गठबन्धनलाई सरकारमा ल्याएपछि एमाले मन्त्री राम रानाले राजीनामा दिएका छन् । योसँगै कोशीबाट नेकपा एमाले औपचारिकरूपमा बाहिरिएको छ । हिजोमात्र मुख्यमन्त्री केदार कार्कीले माओवादी र नेकपा एसका एक(एकजनालाई मन्त्री बनाएका थिए । माओवादीका गणेश उप्रेती र एकीकृत समाजवादीका कमलप्रसाद जवेगु मन्त्री थपिएका छन् ।
मन्त्रिपरिषद् विस्तारमा असहमति जनाउँदै पार्टीको निर्णयअनुसार रानाले आज बिहान मुख्यमन्त्री कार्कीसमक्ष राजीनामा बुझाएका छन् ।
गठबन्धनले माओवादीका इन्द्र आङ्बोलाई अघि सारेपछि कांग्रेसबाट विद्रोह गर्दै एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले सुरूमा एमालेका राम राना र आफ्नो समूह निकटका कांग्रेसका शमसेर राईलाई मन्त्री बनाएका थिए ।