बझाङमा ३ घन्टाभित्र ४ रेक्टरमाथिका ७ वटा भूकम्प
बझाङ : बझाङमा केन्द्रविन्दु भएर आज मंगलबार पटक पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सबैभन्दा ठूलो धक्का दिउँसो ३ बजेर ६ मिनेटमा ६.३ रेक्टर स्केलको गएको थियो । त्यसअघि २ बजेर ४० मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो, जुन पहिलो थियो ।
‘३ बजेर ६ मिनेटको मेनसकपछि ४ रेक्टरमाथिका ३.४ वटा परकम्प गएका छन्,’ केन्द्रका भूकम्पविद् चिन्तन तिम्सिनाले भने, ४ रेक्टरभन्दा कमका त थुप्रै परकम्प गएका छन् । केन्द्रका अनुसार ३ बजेर ४५ मिनेट र ४ बजेर २८ मिनेटमा ४.१ रेक्टर स्केलका तथा ४ बजेर ३१ मिनेटमा ४.३ रेक्टर स्केलको तथा बेलुकी ५ बजेर १९ मिनेट र ५ बजेर ३८ मिनेटमा ५ रेक्टरको भूकम्प गएको छ । भूकम्प कुनै सूचना वा पूर्वसूचना दिएर आउँदैन, एकै दिन धेरै पटक भूकम्प गए पनि आफूहरुले जोखिम घट्यो बढ्यो केही भन्न नसक्ने उनले बताए ।
भूकम्पविद्हरूका अनुसार दक्षिणबाट सर्दै आएको इन्डियन प्लेट उत्तरको युरेसियन प्लेटको मुनि घुस्रिन खोज्ने क्षेत्रमै नेपाल पर्छ । दुई प्लेटबीचको घर्षणका कारण नेपाल सधैं भुइँचालो जान सक्ने अधिक जोखिमको क्षेत्रमा छ । भुइँचालो नगएको क्षेत्रको भूगर्भमा शक्ति सञ्चित भएर बस्छ र कुनै पनि बेला ठूलो भूकम्प जाने खतरा हुन्छ ।
जमिनमुनि जति बढी समयसम्म ऊर्जा सञ्चित हुन्छ, भूकम्प त्यति नै बढी शक्तिशाली हुने भूगर्भविद्हरू बताउँछन् । त्यसैले पूर्वमा कम शक्तिशाली र पश्चिममा बढी शक्तिशाली भूकम्प जान सक्ने जोखिको क्षेत्रमा छ । तिम्सिना भन्छन्, आज एकै दिन धेरै पटक भूकम्प गयो भनेर मात्र हैन, अरु बेलामा पनि सुदूरपश्चिम भूकम्पको जोखिममा थियो र छ त्यसैले सावधानी त सधैं अपनाउनु पर्छ ।