उत्तरी नाका खोल्न पहल गरिदिन प्रधानमन्त्रीसँग माग
सुर्खेत : सुर्खेत उद्योग वाणिज्य संघले चीनसँग जोडिएका नाकाहरु खोल्नका लागि पहल गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष माग गरेको छ । कोरोना महामारीको समयमा बन्द भएका उत्तरी नाकाहरु अझै खुलेका छैनन् । उद्योग वाणिज्य संघले चीनसँग जोडिएका मुगुको नाम्चे नांग्ला, हुम्लाको हिल्सा र डोल्पाको मुरिम्ला नाका खोल्नका लागि पहल गरिदिन आग्रह गरेको हो ।
प्रधानमन्त्री प्रचण्ड सुर्खेत आएको अवसरमा वाणिज्य संघले १९ बुँदे मागपत्र बुझाएको छ । उद्योग वाणिज्य संघले चौकुने र लखरपाटामा सिमेन्ट कारखाना स्थापनाका लागि सडक, विद्युतलगायतका पूर्वाधार एवं संरचना बनाउनुपर्ने, सुर्खेतको साटाखानीमा प्रस्तावित एक हजार बिगाहा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापनाका लागि यथाशीघ्र कार्यारम्भ गर्नुका साथै प्रदेशका प्रत्येक जिल्लामा औद्योगिक ग्राम स्थापना गर्नुपर्ने उल्लेख गरिएको छ ।
यस्तै सुर्खेतमा प्रादेशिक प्रदर्शनीस्थल निर्माण गर्नुपर्ने माग पनि राखिएका छ । सुर्खेत विमानस्थलको धावनमार्ग विस्तारका लागि आवश्यक बजेट विनियोजन, जडीबुटी संकलन तथा प्रशोधन केन्द्र सञ्चालनमा ल्याउन बजेट व्यवस्था गर्न माग गरिएको छ । यस्तै माथिल्लो कर्णाली जलविद्युत आयोजनाका साथै नलगाडलगायतका अन्य जलविद्युत आयोजना सञ्चालनका लागि सरकारका तर्फबाट गर्नुपर्ने आवश्यक नीतिगत, भौतिक पूर्वाधार निर्माणको कार्य तत्काल सुरु गर्नुपर्ने पनि उक्त मागपत्रमा उल्लेख छ ।