सुर्खेतमा फैलँदै आँखा पाक्ने रोग
सुर्खेत : सुर्खेत लगायत कर्णालीका अन्य जिल्लाहरूमा ‘भाइरल फ्लू’ आँखा पाक्ने रोग तीव्र रूपमा फैलिँदै गएको छ । स्वास्थ्य संस्थामा उपचारमा आउने अधिकांश बिरामीहरू आँखा पाक्ने समस्या लिएर आउने गरेको स्वास्थ्य संस्थाहरूले जनाएका छन् ।
पछिल्लो समय स्वास्थ्य संस्थामा उपचार गर्न आउने बिरामीहरूमा आँखा पाक्ने समस्या देखिएको उत्तरगंगा स्वास्थ्य चौकीमा कार्यरत अहेव जमुना भण्डारीले बताइन् । यसरी आँखा पाक्ने समस्या बालबालिकामा बढी देखिने गरेको भण्डारीले जानकारी दिइन् । स्वास्थ्य संस्थामा आउने बिरामी मध्ये ५० प्रतिशतमा आँखा पाक्ने समस्या देखिएको उनको भनाइ छ ।
ुयो रोग धेरै जस्तो बालबालिकामा देखा परेको छ,’ उनले भनिन् सङ्क्रमणको सुरुआतमा आँखा बिझाउने र चिलाउने, आँखा रातो हुने, आँखामा कचेरा लाग्नुका साथै आँसु आउनु, घाममा हेर्न अप्ठेरो हुनु, आँखाको ढकनी सुन्निनु, यस रोगको लक्षण रहेका छन् ।
यता सुर्खेत आँखा अस्पतालमा आँखा पाकेका बिरामीको संख्या बढ्दै गएको नेत्र रोग विशेषज्ञ डा आकांक्षा रानाले जानकारी दिइन् । धेरै जस्तो एउटै घरका परिवारमा यो रोगबाट सङ्क्रमित पाइएका उनले बताइन् । डा रानाका अनुसार दैनिक तीन सयदेखि छ सयसम्म बिरामी आँखा पाकेको समस्या लिएर आउने गरेका छन् । भाइरल फ्लू’का कारण आँखा पाक्ने रोग फैलिएको हुँदा उपचारपछि रोग निको हुने उनको भनाइ छ ।