Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

कर्णालीमा एक वर्षमा ७२ जनाको मृत्यु ,२५ जना बेपत्ता

फाइल फोटा : विपदमा परेहकालाई राहत वितरण गर्दै चामुण्डाबिन्द्रासैनी नगरपालिका

सुर्खेत  :   कर्णालीमा बर्सेनि विपद्बाट नागरिकहरूले ज्यान गुमाउनुका साथै ठूलो आर्थिक क्षति समेत हुने गरेको छ । तर पीडित नागरिकलाई राहत तथा पुर्नःस्थापनाको लागि राज्यको ध्यान पुगेको छैन । कर्णालीका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले नागरिकलाई दिनुपर्ने राहत अहिलेसम्म राज्यबाट दिन नसकिएको बताए । प्रदेशसभाको २८ औँ बैठकमा आर्थिक वर्ष ०७९÷०८० मा भएका विपद्को अवस्थाबारे जवाफ दिँदै मन्त्री जिसीले सो वर्षमा दुई हजार २ सय १४ वटा विपद्का घटनाहरू भएको बताए ।

जसबाट ६ हजार २२८ वटा घरहरुमा क्षति भएको छ । यस्तै ७ वटा उद्योग, ७५ विद्यालय, १९५ स्थानमा सडक भत्किएको मन्त्री जिसीले जानकारी दिए । यस्तै विपद्का घटनामा परी ७२ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता र १२४ घाइते भएका थिए ।

सो आर्थिक वर्षमा ६४ करोड ८६ लाख ९६ हजार बराबरको आर्थिक क्षति भएको पनि जिसीले बताए । तर सबै विपद् पीडितलाई राहत उपलब्ध गराउन भने सकिएको छैन । जिसीका अनुसार कर्णालीमा ०७१÷०७२ सालदेखि अहिलेसम्म विपद्बाट भएका घटनामा परेका पीडितहरुलाई राज्यले ३ अर्बभन्दा बढीको क्षतिपूर्ति दिनुपर्ने छ ।

अघिल्लो वर्ष विपद् पीडित परिवारलाई प्रति मृतक २ लाखका दरले ५२ जनालाई मात्र राहत रकम दिइएको छ । अन्य पीडितहरुलाई राहत रकम दिने प्रक्रियामै रहेको उनले बताए । यस्तै कानुन मन्त्रालयले १ करोड ८० लाख रकम तत्काल राहत शीर्षकमा जिल्ला प्रशासन कार्यालयहरुलाई पठाएको थियो ।

जिसीका अनुसार ०७८र०७९ मा विपद्मा परी पीडित भएकाहरुबाट पेस हुन आएका ४१६ वटा क्षतिको राहत उपलब्ध गराउन सकिएको छैन । त्यसका लागि कानुन मन्त्रालयले ८० करोडको मागसहित अर्थ मन्त्रालयमा पत्र पठाइएको भएपनि अहिलेसम्म नआएको उनले जानकारी गराए । साभार रातोपाटी