जुम्लामा वडाबाटै नुन वितरण
जुम्ला : जुम्लामा नुन नपाईएको भन्दै साल्ट ट्रेनिङ कार्यालयमा नागरिकले तोडफोड गरेपछि वडाबाट नुन वितरण गर्न सुरु गरिएको छ । नेपाल साल्टट्रेनिङ कार्यालयले वडामा नुन पठाउन सुरु गरेपछि वडा कार्यालयले वितरण गर्न सुरु गरेको हो । वडाध्यक्ष चन्द्रमान बुढाका अनुसार तातोपानी गाउँपालिका वडा नम्बर २ ले वडाबाटै प्रति घरधुरी ३.३ केजी नुन वितरण गरिएको छ। उनका अनुसार साल्टट्रेनिङ कर्पोरेसन कार्यालयले १५ क्विन्टल उपलब्ध गराएको नुन वितरण गरिएको हो ।
कार्यालय प्रमुख खगेन्द्र मल्लका अनुसार तातोपानीका १ देखी ७ नम्बर वडा, चन्दननाथको १,७, ८ र ९ र गुठिचौरका २ र ४ वडामा नुन एकीकृत रूपमा वडाको माग अनुसार प्रति घरधुरी ३ प्याकेट पर्ने गरी वडाले बुझेर लिएका छन् । प्रमुख मल्लका अनुसार अहिलेसम्म करिब तीन सय क्विन्टल नुन वडाले वितरणका लागि लिएका छन् ।
कार्यालयका अनुसार तातोपानी वडा नम्बर १ मा २१ क्विन्टल, २ मा १५ क्विन्टल, ३ मा १५ क्विन्टल, ४ मा २० क्विन्टल, ५ मा साढे १७ क्विन्टल, ६ मा साढे १२ क्विन्टल र वडा नम्बर ७ मा साढे २२ क्विन्टल नुन वितरण गरिएको छ । यसैगरी, चन्दननाथ नगरपालिका वडा नम्बर १ मा २५ क्विन्टल, वडा नम्बर ७ मा ३५ क्विन्टल, वडा नम्बर ८ मा २० क्विन्टल र वडा नम्बर ९ मा २५ क्विन्टल नुन दिइएको प्रमुख मल्लले बताए । गुठिचौर गाउँपालिकाको वडा नम्बर १ मा २५ क्विन्टल र ४ नम्बर वडामा साढे ३० क्विन्टल दिइएको छ ।
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले अहिले पनि नागरिकले नुनका लागि भिडमा लाग्नुपर्ने बाध्यता हटाउन वडाबाट वितरण गर्न निर्देशन गरे अनुसार वडाबाट वितरण सुरु भएको बताउनुभयो । उहाँले कार्यालयले वडाको माग अनुसार अहिले वडालाई धमाधम नुन वितरण गरेको हो । गत असार ३१ गत साउने सङ्क्रान्तिका लागि नुन लिन कार्यालयमा गएका नागरिकले नुन नपाएको भन्दै ढुङ्गामुढा गरेर कार्यालय समेत तोडफोड गरेका थिए ।