सुन बरामद प्रकरणमा एजेन्टसहित ६ जना पक्राउ
काठमाडौं : राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकजना एजेन्टसमेत छन् । विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ । स्रोतका अनुसार पक्राउ पर्नेमा आयातकर्ता कम्पनी रेडी ट्रेडर्सका सञ्चालक दीलिप भुजेल, सुन हालेर लैजान लागिएको ट्याक्सी चालक रहेका छन । अनुसन्धान प्रभावित हुनसक्ने भन्दै पक्राउ परेकाहरूको नाम खुलाइएको छैन ।
बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो । विभागले विमानस्थल भन्सार कार्यालयको गेटअगाडि सुन बरामद गरी तत्काल दुईजना पक्राउ गरेको थियो । त्यसपछि आज बिहानसम्म थप चारजना पक्राउ गरिएको ढुंगानाले बताउनु भयो । सुन हङकङबाट ल्याइएको स्कुटरको पार्टसमा रहेको बताइएको छ । नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो ।