Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

कर्णालीका २४ हजार बढीलाई पार्टी स्कुलमा जोड्दै एमाले

सुर्खेत  :  नेकपा एमालेले कर्णालीका २४ हजार १ सय पार्टीका नेता तथा पार्टी सदस्यलाई पार्टीको स्कुलसँग जोड्ने भएको छ । एमालेले आन्तरिक सुदृढीकरणका लागि पार्टी स्कुलसँग जोड्ने भएको हो । पार्टीले वडादेखि प्रदेशसम्म प्रतिनिधित्व गर्ने नेता तथा कार्यकर्ता गरी २४ हजार बढीलाई पार्टीको स्कुलसँग जोड्ने भएको छ ।

पार्टीले कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने २८ जना केन्द्रीय सदस्य, १ सय ३५ प्रदेश कमिटी सदस्य, ५५ जना हरेक जिल्ला कमिटीका पदाधिकारी, सचिवालय सदस्य गरी ५५ जना, प्रत्येक पालिका स्तरका ७५ देखि ८० सदस्य, वडा कमिटीमा आबद्ध सदस्य र २३ वटै जनवर्गीय सङ्गठनमा आबद्ध पदाधिकारी तथा सदस्यहरू गरेर २४ हजार बढी नेता कार्यकर्तालाई एक वर्षमा प्रदेश पार्टी स्कुल विभागमा जोड्ने योजना बनाएको हो ।

विभागले सुर्खेतमा आयोजना गरेको पाँच दिने प्रशिक्षक प्रशिक्षण तालिमका क्रममा कार्य योजना पारित गर्दै एमाले कर्णालीले प्रदेशका दश वटै जिल्लाका पार्टीका नेता, जनप्रतिनिधि र पार्टी सदस्यहरूका लागि प्रशिक्षण प्रदान गर्ने गरी कार्य योजना निर्माण गरेको केन्द्रीय सदस्य तथा पार्टी स्कुल विभाग कर्णालीका केन्द्रीय समन्वयकर्ता विष्णु रिजालले जानकारी दिए । पार्टी स्कुलको उद्देश्य अनुरूप पार्टीका सबै सदस्यहरूलाई कुनै न कुनै रूपमा पार्टी स्कुलमा जोड्ने प्राथमिक, माध्यमिक र उच्च तह गरी तीन तहमा विभाजन गरेको उनले बताए ।

प्रदेश स्तरमा माध्यमिक र जिल्ला तथा पालिका तहमा प्राथमिक तहको पार्टी स्कुल सञ्चालन गरी पहिलो चरणमा कम्तीमा कमिटीमा आबद्ध सबैलाई पार्टी कक्षा प्रदान गर्ने गरी प्रदेश स्कुलले वार्षिक कार्य योजना पारित गरेको रिजालले बताए । पार्टीका सैद्धान्तिक, वैचारिक र राजनीतिक धारणाहरूमा एकरूप बुझाइ कायम गर्न कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूको छुट्टै कार्यशालाको आयोजना गरिने जनाइएको छ ।

एमालेले हरेक कमिटीमा आबद्ध युवाहरूलाई सैद्धान्तिक–वैचारिक रूपमा तयार गर्न विशेष प्रशिक्षणहरू सञ्चालन गर्ने निर्णय गरेको छ ।