तीन जना पत्रकारलाई कर्णाली प्रदेश पत्रकारिता पुरस्कार
दैलेख : कर्णाली प्रदेशमा रहेर पत्रकारिता गरेका तीन जना पत्रकारलाई कर्णाली प्रदेश पत्रकारिता पुरस्कार–२०८० प्रदान गरिने भएको छ । पुरस्कारका लागि कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले पुरस्कारका लागि आइतबार तीन पत्रकारको नामावली प्रकाशन गरेको हो । सुर्खेत बाट रातोपाटीमा कार्यरत पंख बहादुर शाही, दैलेखमा रहेर ग्यालेक्सी टेलिभिजनमा कार्यरत भक्त बहादुर शाही र अन्नपुर्ण दैनिकका दैलेख प्रतिनिधि हिक्मत बहादुर नेपालीलाई उक्त पुरस्कार प्रदान गर्ने भएको हो ।
उनीहरुलाई जनही ५० हजार राशीको पुरस्कार र प्रमाण–पत्रसहित पुरस्कृत गरिने मन्त्रालयले कानुन मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेश पत्रकारिता पुरस्कार वितरण कार्यविधि–२०८० बमोजिम मन्त्रालयले असार १५ गते पुरस्कारका लागि आवेदनको सूचना प्रकाशित गरेको थियो ।
उक्त सूचनामा तोकिएको म्यादभित्र मन्त्रालयको विद्युतीय प्रणालीमा दर्ता हुन आएका आवेदनहरुको कार्यविधि अनुसार मूल्याङ्कन गरि तीन जना पत्रकारको नाम छनौट गरेको कानुन मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेश पत्रकारिता पुरस्कार–२०८० बाट पुरस्कृतका लागि आइतबार बसेको मन्त्रीस्तरीय निर्णयअनुसार पत्रकारहरुको नामावली तयार पारिएको हो ।